• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

नाकामा रोकियो फलफूल र तरकारीको सयौं ट्रक, करोडौंको घाटा भएको व्यावसायीको गुनासो

Fm Radio Link

काठमाण्डौँ, सरकारले विषादी परीक्षण अनिवार्य गरेपछि भारतीय तरकारी तथा फलफूल बोकेर नेपाल आउन लागेका सयौं ट्रक विभिन्न नाकामा रोकिएका छन् । बिषादीयुक्त तरकारी तथा फलफूल आयातमा रोक लगाउनुपर्ने भएपनि सरकारले अहिले गरिरहेको प्रक्रिया गलत भएको सरोकारवालको बुझाइ छ । भैरहवा, वीरगञ्ज, काकडभिट्टा, विराटनगर लगाएत नाकामा तरकारी तथा फलफूल बोकेका सयांै ट्रकहरु नेपाल भित्रने पालो कुरेर बसेका छन् । सरकारले ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित् भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको परीक्षण अनिवार्यको व्यवस्था गरेसंगै तरकारीका ट्रक नाकामै रोकिएका हुन् ।

 

विषादी परिक्षण गर्नु राम्रो भएपनि प्रक्रिया नमिलेको भन्दै व्यवसायिले गुनासो गरेका छन् । तरकारी तथा फलफूल जिल्ला संघ ललितपुरका अध्यक्ष कृष्णप्रसाद सञ्जेल तयारी बिना गरिएको यो कार्यले बजारमा तरकारी तथा फलफूलको अभाव भएको बताउनुभयो । सरकारले विषादी जाँच गर्ने त भनेको छ, तर न दक्ष प्राविधिक छन्, न त प्रविधि नै । खाद्य प्रविधि तथा गुण विभाग बाहेक कसैसँग विषादीको मात्रा हेर्ने प्रविधि छैन ।

 

अहिले केन्द्रीय कृषि प्रयोगशालाका प्राविधिकले बिषादी जाँच गरिरहेका छन् । प्लान्ट क्वारेन्टाईन एवम् विषादी व्यवस्था केन्द्रका वरिष्ठ बाली विकास अधिकृत रामकृष्ण सुवेदी नमुना धेरै र प्राविधिक थोरै भएका कारण समय लागेको बताउनुहन्छ ।  सरकारको उद्देश्य राम्रो भएपनि तयारी नपुगेको भन्दै व्यवसायीहरुले गूनासो गरेका हुन् । नाकामा नै फलफूल तथा तरकारी रोकिंदा करोडौंको घाटा भएको फलफूल व्यवसायी महासंघका अध्यक्ष खोपप्रसाद घिमिरेको भनाइ छ ।  

 

सरकारले अहिले कालिमाटी, विर्तामोड, बुटवल लगाएत सात स्थानबाट विषादी परीक्षणको काम गरिरहेको छ । तर पर्याप्त प्राविधिक र प्रविधि नहुँदा असजिलो भएको केन्द्रिय कृषि प्रयोगशालाका प्रमुख कञ्चनराज पाण्डेको भनाइ छ । भारतले पनि यसअघि विषादी परीक्षण भन्दै नेपालको गोलभेडा, अदुवा लगाएत सामग्री  निर्यातमा रोक लगाएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डाक्टर सुरज पौडेल नीति परिवर्तनकै जरुरी रहेको टिप्पणी गर्नुहुन्छ ।

 

 नेपालले विषादी परीक्षणको लागि गरेको प्रयास आम नागरिकको लागि हितकर छ । तर विना प्रविधी, विना प्राविधीक तयारी नपु¥याइ गरेको निर्णयले नेपाली व्यवसायीलाई घाटा हुने चिन्ता थपिएको छ । 

प्रतिकृया दिनुहोस