• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

सर्लाही घटनाबारे छानबिन गर्न गृहको टोली सर्लाहीमा

Fm Radio Link

काठमाडौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँकेमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सर्लाही पुगेको छ । टोली आज सर्लाही पुगेको हो ।

 

टोलीले आजबाटै सरोकारवाला निकायसँग सोधपुछ र जानकारी लिनसमेत सुरु गरेको छ । ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका १२ वर्षीय बालक अमित रायको बाँके खोलामा क्रसर उद्योगले बनाएको गहिरो खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

 

यसपछि पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्न आएका स्थानीय र प्रहरीबीच झडप भएको थियो । सो झडपमा परी स्थानीय २७ वर्षीय देवन भनिने सरोजनारायण महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।

 

यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली गठन गरेको थियो । घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका उपसचिव कमल ढकाल नेतृत्वको टोली जिल्ला पुगेर विभिन्न निकायसँग सोधपुछ र जानकारी लिन सुरु गरेको छ । सो झडपमा परी एक जना प्रदर्शनकारी, ११ जना प्रहरी र ६ जना सशस्त्र प्रहरी घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस