• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

'राजा' ज्ञानेन्द्रलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला ?

भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ?

Fm Radio Link

काठमाडौं, बिरामी त 'राजा' ज्ञानेन्द्र पनि हुँदा हुन् । उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न । तर तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला ?

 

त्यत्रो दुई सय वर्षभन्दा बढ़ी शासन गरेको राजसंस्थाका अन्तिम शासक ज्ञानेन्द्रको हल्ला गरिएजस्तो विशाल सम्पत्ति पनि देखिएन । अन्य देशका राजधानीमा प्रायः हरेक राजाका दर्जनौं दरबार हुन्छन् । एक दुई थान हेलिकप्टर, निजी जेट विमान र प्राइभेट जङ्गलहरू हुन्छन् । त्यही एउटा निर्मल निवासबाहेक काठामाडौंमा उल्लेख्य दरबारहरू पनि उनको नाममा रहेनछन् । त्यही निवास पनि पुरानो समयमा अलि धेरै जग्गामा बनेकोले ठूलो देखिएको होला, दरबारजस्तो छैन । नागार्जुनमा उनी बस्ने घर जम्मा चार कोठे छ रे । नारायणहिटी नै पनि के नै दरबारजस्तो थियो र ? अलिकति जग्गा र पर्खाल न हो । आज सङ्ग्रहालय बनेको त्यो दरबार छिर्दा म अचम्म बनेको थिएँ । कति मामुली बेडरूमहरू, कति सामान्य सजाबट । बरु राणाहरूले बनाएका महल भव्य र महँगा लाग्ने । उनले विदेशतिर अकूत सम्पत्ति जोडेको पनि देखिएन । हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्, उनी एउटा कारमा बिदा भएका थिए । भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ? त्यस्तो प्रयास पनि देखिएन ।

 

बिरासतमैं प्रशस्त सम्पत्ति लिएर आएका ज्ञानेन्द्रभन्दा चप्पल लगाएर काठमाडौं छिरेकाहरू नै बरु बढ़ी धनी देखिन्छन् । ज्ञानेन्द्रमात्रै होइन, यति लामो राजवंशमा सयौं अन्य राजपरिवार पनि होलान् ! सत्ता र शक्तिको नजिक रहेका ती नेपालको सबैभन्दा धनी परिवारमध्ये हुनुपर्ने हो, तर ती पनि गुमनाम देखिन्छन् । देउबादेखि माधव नेपालसम्म बेलायत-अमेरिका आइरहन्छन् । ज्ञानेन्द्रलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ कि ?

 

सबैभन्दा महँगो कार चढौँ, सबैभन्दा अग्लो महलमा बसौं, सबैभन्दा महँगो डिजाइनको फेशन लगाऊँ भन्ने चाहना पनि किन नआएको होला ? म नाथेलाई त लोभ लाग्छ । मन्त्रीहरू एकपल्ट चढेको गाड़ी नचढ्ने भन्छन्, उनले नयाँ गाड़ी मागेको या किनेको पनि सुनिन्न । लण्डनको ह्यारोड्समा शपिंग गर्ने रहर होला कि नहोला ? फ्लोरिडा या मियामीमा होलिडे मनाउने रहर किन नआएको होला ? किन चितवन या पोखरामात्रै मन परेको होला ? पूर्व नै भए पनि राजा त हुन्, यसो हेर्दा पनि अति सामान्य लाग्ने जीवनशैली किन अपनाएको होला ?

 

ज्ञाने चोर देश छोड् भन्ने मध्ये म पनि एक थिएँ । अझै पनि हाम्रा शासकले होच्याएरै बोल्छन् । अनेक धम्की दिन्छन् । कहिलेकाहीँ आमजनताले जस्तै देशबारे दुई शब्द बोल्दा अपराधै गरेजस्तो गर्छन् । तैपनि तिनकै स्तरमा उत्रेर क्षुद्र वचन बोल्न ज्ञानेन्द्रलाई केले छेकेको होला ?

 

यसो सोच्छु, हैन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिँदा र त्यत्रो अपमान हुँदा पनि देशमैं बस्छन् ! कतै जाँदैनन् ! लोकप्रिय, जनवादी, सर्वहारा र क्रान्तिकारी राष्ट्रपतिलाई बरु डर लाग्छ र आकाश-धर्ती खालि गर्नुपर्छ, यी सामन्ती मनुवा सड़कमा खुलेआम मान्छेको बीचमा देखिन्छन् ! कस्तो डर पनि नलागेको होला ?

 

परिस्थितिले राजा बनेका थिए, जनताले राजसंस्था चाहिन्न भनेर आन्दोलन गरे, यिनले छोडिदिए । त्यसबाहेक खास गल्ती यिनको के नै थियो र ? लौ राजसंस्था खराबै होला रे, तर यिनले सुरु गरेको त होइन । अलि अर्घेलो भनेको शेरबहादुरलाई अक्षम भनेर फालेका थिए यिनले । अहिलेका दुई तिहाई वालाले पनि उनलाई अक्षम नै त भन्छन् । अलि राम्रो होला कि भन्ने लाग्यो होला, भएन । तर स्विट्जरल्याण्ड बनाउँछु भनेर गफ पनि त दिएनन् । भएकोभन्दा अलिकति राम्रो बन्छ कि भन्ने न थियो । एउटा दुई महिने नाकाबन्दीले हाम्रो आर्थिक वृद्धिदर शून्यप्रतिशतमा झरेको थियो, माओवादी द्वन्द्वले देशै नाकाबन्दी जस्तो हुँदा पनि अर्थतन्त्र स्वस्थ नै रह्यो । अहिलेजस्तो कहालीलाग्दो व्यापारघाटा त्यो बेला थिएन । अहिले राजदूत या जिएम नियुक्ति जसरी हुन्छ, उनले त्यसरी नै गरेको भए जम्मैं मन्त्री र कर्मचारी शाह र राणामात्रै हुन्थे होला ।

 

तर अचम्म, हाम्रो सरकारले तोकेको मर्यादाक्रममा देउबादेखि माधव नेपालसम्मको मर्यादा त तोकिएको छ तर उनका लागि कुनै ठाउँ छैन । उनी एउटा इतिहास त हुन् नि । हाम्रा नेताहरूलाई पत्रिकाले 'तिमी' भनेर सम्बोधन गरेको मन पर्दैन तर तिनैले पूर्व राष्ट्रप्रमुखलाई तपाईं भन्ने सामान्य आदर गर्न पनि किन हिचकिचाउने होलान् ? किन कुनै महत्त्वपूर्ण सरकारी कार्यक्रमहरूमा उनलाई ननिम्त्याइने होला ? के हाम्रो लोकतन्त्रमा उनी अटाउन्नन् ? के उनलाई राज्यले अलिकति आदर दिँदा हाम्रो व्यवस्थै डगमगाउँछ ?

 

उसो देशको नागरिकता त्यागेकाहरू लाई त राजनैतिकबाहेक सांस्कृतिक र सामाजिक अधिकारसहितको गैर-आवासीय नागरिकता दिने व्यवस्था भएको छ, अलिकति ठूलो मन गरेर यी अन्तिम राजा बाँचुन्जेल राजनैतिकबाहेकका चाडपर्व, जात्राहरू र मठमन्दिरसँग जोड़िएका सांस्कृतिक अधिकार दिन सकेको भए पनि हुन्थ्यो । हाम्रो समस्या राजनीतिसँग पो थियो ! धर्मनिरपेक्ष देशमा नास्तिक, भौतिकवादी, मुश्लिम या क्रिश्चियन जो पनि राष्ट्रप्रमुख बन्न सक्छ, तर उसलाई मच्छिन्द्रनाथको भोटो दर्शन गराउनु कत्तिको सार्थक होला ?

(बसिबियाँलो)

साभार: https://www.facebook.com/ngaunle/posts/10211210525817327 नारायण गाउँलेको फेसबुक बाट

प्रतिकृया दिनुहोस