• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

कुखुरामा एन्टिवायोटिक औषधीको प्रयोग कम गर्न आग्रह

Fm Radio Link

पोखरा ।

गण्डकी प्रदेशले कुखुरामा एन्टिवायोटिक औषधीको मात्रा कम गर्न आग्रह गरेको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले कुखुरा पालक किसानलाई कुखुरामा एन्टिवायोटिक औषधीको मात्रा कम गर्न आग्रह गरेको हो ।

महाशाखाले आयोजना गरेको ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तरक्रियात्मक गोष्ठीमा कार्यपत्र पेश गर्दै महा शाखा प्रमुख डा. गृष्म न्यौपानेले एन्टिवायोटिक औषधीको मात्राले मानव स्वास्थ्यमा असर पर्ने भन्दै त्यसको मात्रा कम गर्न आग्रह गरे । एन्टिवायोटिक औषधीको प्रयोग बढ्यो, ‘उनले भने, ‘यसले रेसिस्टेन्स बढायो, त्यसैले यसको प्रयोगमा न्यूनीकरण गरौं ।’

डा.न्यौपानेले पहिले थोरै डोज प्रयोग गर्दा रोग निको हुने भएपनि अहिले त्यसको मात्रा बढाएकाले रेसिस्टेन्स बढेको उल्लेख गरे । उनले एन्टिवायोटिक औषधी अत्यधिक प्रयोगले कुखुराको कलेजो खराब हुने र मासुमासमेत त्यसको असर हुने भएकाले मान्छेले मासु प्रयोग गर्दा त्यसको असर मानव श्वास्थ्यमा पर्नजाने बताए । उनले औषधीको प्रयोग सम्बन्धी सचेतना जगाउनुका साथै प्रदेश स्तरिय आधारभूत प्रयोगशाला निर्माण गरेर नियमित जाँच गराउने परिपाटीको विकास गर्न अत्यावश्यक भइसकेको बताए ।

किसानले भने विकल्प नदिई एन्टिवायोटिक औषधी प्रयोग नगर भन्नु सान्दर्भिक नहुने बताए । किसान तेजराज भट्टराईले एन्टिवायोटिकको विकल्प के हो भन्ने प्रश्न गर्दै सचेतनासहितको विकल्प सरकारले दिनुपर्ने बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले एन्टिवायोटिकको समस्या हामी आफैले निम्त्याएकाले यसको समाधान पनि हामीले नै गर्नुपर्ने बताए । उनले भने, ‘यो हामीले नै निम्त्याएको समस्या हो, अनि समाधान पनि हामीले नै गर्ने हो ।’ उनले समाधानका लागि गर्नुपर्ने सबै कुरा प्रक्रियागत रुपमा ल्याउन आग्रह गर्दै सो कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको बताए ।
 

प्रतिकृया दिनुहोस