२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

काठमाडौं लुट्न आउँछन् भारतीय चोर ८ समूहका ३ सय चोर सक्रिय

image

काठमाडौं – पछिल्लो समय राजधानी काठमाडौंमा लुटपाट गर्ने गिरोह सक्रिय भएको छ । टोलटोलमा चोरीका घटना बढ्न थालेका छन् भने प्रहरीसमक्ष पुग्ने उजुरी पनि बढ्न थालेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । चोरीको घटना र उजुरी बढेपछि प्रहरीले चोरी नियन्त्रण गर्न विशेष निगरानी थालेको छ ।

प्रहरीले चोरी नियन्त्रणका लागि चालेको विशेष अभियानका क्रममा भारतीय लुटेराहरु काठमाडौंमा लुट्न आउने गरेको तथ्य फेला परेको छ । महानगरीय प्रहरी परिसरले दिएको जानकारीअनुसार भारतबाट आएका चोरहरुको समूहले काठमाडौंमा फ्ल्याट नै भाडमा लिएर चोरीका सामान स्टोर गर्ने गरेका छन् ।

प्रहरीले चलाएको ‘सर्च अभियान’मा पनि यही तथ्य देखिएको महानगरीय प्रहरी परिसरका डीएसपी होमिन्द बोगटीले बताए । उनले भने, ‘चोरीको सूचना पाएर परिचालन भएको प्रहरी टोलीले ठूलो परिमाणमा सामान बरामद गरेको छ । सामानसँगै २ भारतीय र १ नेपाली पक्राउ परेका छन् ।’ बोगटीमा अनुसार पक्राउ पर्नेमा रामेछापका ओमराज श्रेष्ठ र भारतीय नागरिक मोतिहारीका पारस प्रसाद र सन्तोष पोद्दार छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएसँगै काठमाडौंको कमलपोखरी र गौरीधारमा २ वटा घरका फ्ल्याटमा राखिएको सामान तथा पुरानो बानेश्वरमा ३ वटा कोठामा स्टोर गरिएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको भ्यान र बा ८० प १५४० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

चोरीमा संलग्नहरुले काठमाडौंका विभिन्न हार्डवेयर, ज्वेलर्स, फेन्सी पसललगायत स्थानमा दिउ“सो रेकी गर्ने र रातिको समयमा चोरी गर्ने गरेको खुलेको छ।

माथिका घटनामा काठमाडौंमा हुने चोरी तथा लुटपाटका पछिल्लो समय घटेका प्रतिनिधि घटना हुन् । चालु आर्थिक वर्षमा काठमाडौंमा मात्र ४ सय ७३ वटा चोरी तथा लुटपाटका घटना घटेका छन् । गत आर्थिक वर्ष २०७४/७५ मा उपत्यकामा ६ सय ४८ वटा चोरीका घटना भएको प्रहरीको तथ्यांक छ ।

कुन वर्ष कति चोरी भए

४ वर्षको तथ्यांकलाई हेर्दा २ हजार ६ सय ५१ चोरीका घटना भएका छन् । जसको तथ्यांक यस्तो छ:

चोरहरुका ८ समूह, ३ सय बढी सदस्य

चोरहरुले समूह बनाएर सदस्यता विस्तार गर्ने गरेको प्रहरीको दाबी छ । महानगरीय अपराध महाशाखाको अध्ययन अनुसार, राजधानीमा मुख्यतया चोरका ८ वटा समूह सक्रिय छन् । जसमा ६ वटा नेपालीहरुको समूह छ भने, भारतीयले २ वटा समूह बनाएर लुटपाट गरिरहेका छन् ।

अहिले राजधानीमा चोरी तथा लुटपाटमा रहेका समूहमध्ये कर्ण समूह, जिमी समूह, बासु समूह, रामेछापे समूह, दोलखाली समूह, विष्णु समूह नेपाली चोरहरुको समूह हो । त्यस्तै भारतीय र पोद्दार समुहका रुपमा भारतीय चोरले काठमाडौंमा आतंक मच्चाइरहेका छन्।

यस बाहेक छुट्टै रुपमा टापटीपे चोर पनि सक्रिय छन् । प्रहरीका अनुसार, यीनिहरु छुट्टा छ्ट्टै समूहमा चोरी गर्छन् । चोरीमा संलग्न समूहबीच आपसी कनेक्सन नभएको प्रहरीको दाबी छ । चोरीलाई नै पेशा बनाएका पेशेवर चोरहरुले उपत्यकामा महिनामा २० भन्दा बढी चोरीका घटना घटाउने गरेका छन् ।

प्रहरीको सूचीअनुसार उपत्यकाका व्यवसायिक चोरको संख्या ३ सयको हाराहारीमा छ । जसमध्ये अधिकांश सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, मकवानपुर, सिन्धुली, सर्लाही लगायतका जिल्लाका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार नेपालका जिल्लाहरुबाट मात्र नभई भारतको बिहार, मोतिहारी लगायतका ठाउँमाबाट आएका व्यक्ति चोरीमा संलग्न छन् ।

अहिले सक्रिय चोरले नगद, गरगहना तथा इलेक्ट्रोनिक सामानलाई लक्षित चोरीका घटना घटाउने गरेको पाइएको पनि एसएसपी लामाले बताए ।

बरामद भएका सामान र चोरीमा प्रयोग भएका गाडी सार्वजनिक गर्दै प्रहरी

कार्यालय समयमा धेरै चोरी

चोरीका घटनालाई हेर्दा कार्यालय समय १०-५ को बीचमा धेरै चोरी हुने गरेको छ । त्यस्तै बिहान ४–१० बजेको समयमा पनि चोरी हुने गरेको छ । यो समय चोरको दोस्रो रोजाइमा रहेको पाइन्छ । त्यस्तै बेलुका ५ बजेपछि भने कममात्र चोरीका घटना घट्ने गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह ठाकुरका अनुसार घर खाली रहेको समयलाई नै लक्षित गरेर चोरले आफ्नो योजना बनाउने गरेका छन् ।

काठमाडौंका महाराजगञ्ज, थापागाउँ, शान्तिनगर, रातोपुल, बाफल, गैरीगाउँ, डल्लु, कलंकी, सिनामंगल, गौरीघाटमा बढी चोरी हुने गरेको पाइएको छ । यहाँबाट धेरै उजुरी प्रहरीमा पुग्ने गरेको छ । अन्य स्थानमा पनि चोरीका घटना दोहोरिने गरेको एसपी ठाकुरले बताए ।

चोरी नियन्त्रणका चुनौती

राजधानीमा अपराधको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी अपाराधको सूचीमा चोरी नै देखिन्छ । चोरी नियन्त्रण प्रहरीका लागि चुनौतीपूर्ण रहेको पूर्वडीआइजी केशव अधिकारीले बताए । अधिकारी भन्छन्, ‘कामाठमाडौंमा ४५ लाखभन्दा धेरैको बसोबास छ । तर, अपराध नियन्त्रणमा परिचालन हुने प्रहरीको संख्या कम छ । चोरी नियन्त्रणका लागि नयाँ प्रविधि पनि अपनाइएको छैन । जसले यो काम चुनौतीपूर्ण र प्रहरीका लागि निक्कै कठिन बन्दै गएको छ ।’

चेतनाको अभाव, अशिक्षा, बेरोजगारीजस्ता समस्या चोरीका कारण रहेको अधिकारीको बुझाइ छ । पछिल्लो समय लागूऔषध सेवन गर्ने युवाको संख्या बढेसँगै चोरीको घटना पनि बढेको र लागूऔषध सेवन गर्ने चोरीका कार्यमा संलग्न रहने गरेको अधिकारीले बताए ।

चोरीमा संलग्नलाई जेल तथा आर्थिक जरिवाना तिराईन्छ । पहिलो पटक चोरी तथा पाकेटमारी गरेमा १ महिना जेल तथा बिगो बराबरको जरिवाना सजायँ हुने कानुनी प्रावधान छ । त्यस्तै दोस्रो पटक चोरीमा संलग्न भएको व्यक्तिको दुई महिनाको जेल तथा बिगो बमोजिमको जरिवाना हुनेछ ।

प्रहरीको सक्रियता तथा कानुनी प्रक्रियासँगै चोरी नियन्त्रणको सबैभन्दा ठूलो उपाय भनेको आफ्नो सावधानी हो । सबै नागरिक सचेत भएर आफ्ना राखनधरनलाई व्यवस्थित बनाए चोरीका घटना कम हुनसक्छन् । त्यसैले ‘थैलीको मुख राम्रोसँग कस्नु, कसैलाई चोरीको दोष नलगाउनु’ भन्ने बुढापाकाको आख्यानलाई कार्यान्वनय गर्ने हो भने चोरी नियन्त्रण हुनसक्छ ।