भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको नेपालमा पैठारी, प्रवेश अनुमति तथा बिक्री वितरणमा रोक लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त बिस्कुटको आयात रोक्नुका साथै बजारमा पुगिसकेका उत्पादनसमेत फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारतद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म नेपालमा बिक्री वितरण नगर्न र बजारमा रहेका उत्पादन फिर्ता गर्न सम्बन्धित आयातकर्ता, पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई निर्देशन दिएको छ । विभागले २०८३ असोज ९ गते जारी गरेको सूचनाअनुसार उक्त बिस्कुटको सबै ब्याचमा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ । उत्पादन मिति जुनसुकै भए पनि प्रियागोल्ड ब्रान्डका बिस्कुटको बिक्री वितरण रोक्न र बजारबाट फिर्ता ल्याउन भनिएको छ ।
विभागका अनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनीमाथि प्रश्न उठेको हो । भारतीय नियामक निकायले गरेको निरीक्षणका क्रममा बिस्कुट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादन प्रक्रिया तथा कारखानाको सरसफाइ र गुणस्तरसम्बन्धी मापदण्डमा गम्भीर कमजोरी भेटिएको जनाइएको छ ।
निरीक्षणका क्रममा गाईवस्तुको दानाका रूपमा प्रयोग गर्नुपर्ने चोकर (क्याटल फिड ब्रान) लाई प्रियागोल्ड बिस्कुट उत्पादनमा रेशा वा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको विभागको सूचनामा उल्लेख छ । उक्त पदार्थ बिस्कुटमा प्रयोग गरिएको विषयमा उपभोक्तालाई स्पष्ट जानकारी नदिइएको पनि जनाइएको छ । त्यस्तै, कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा उत्पादनस्थलको उचित मर्मतसम्भारमा समेत कमजोरी भेटिएको सूचनामा उल्लेख छ ।
यी कमजोरीलाई गम्भीर मापदण्ड उल्लङ्घनका रूपमा लिँदै भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरेको र कम्पनीविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको विभागले जनाएको छ । भारतीय नियामक निकायबाट प्राप्त जानकारी र विभागको उच्च व्यवस्थापन समूह तथा उत्पादन फिर्ता प्राविधिक समितिको संयुक्त बैठकको सिफारिसका आधारमा नेपालमा पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको हो ।
विभागले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्मका लागि आयात, प्रवेश अनुमति र बिक्री वितरण रोक्ने निर्णय गरेको जनाएको छ । विभागले सम्बन्धित खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ को २ र ३५ को ६ बमोजिम निर्देशन पालना गर्न भनेको छ । बजारमा रहेका उत्पादनको तत्काल फिर्ता प्रक्रिया सुरु गरी त्यसको उचित सङ्कलन, अभिलेखीकरण तथा व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ ।
बजारबाट फिर्ता ल्याइएका बिस्कुट नष्ट गर्नुपर्ने वा अन्य उपयुक्त व्यवस्थापन गर्नुपर्ने अवस्थामा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतका प्राविधिक कर्मचारीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ । विभागले निर्देशनको अवज्ञा गरी प्रतिबन्धित बिस्कुटको बिक्री वितरण गर्ने वा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।
प्रियागोल्ड बिस्कुटका सबै ब्याचको बिक्री रोक्ने निर्णयसँगै आयातकर्ता, थोक तथा खुद्रा विक्रेताले आफ्नो मौज्दात जाँच गरी सम्बन्धित उत्पादन बिक्रीबाट हटाउनुपर्ने भएको छ । उपभोक्ताले पनि घरमा उक्त ब्रान्डका बिस्कुट भएमा तत्काल उपभोग नगरी सम्बन्धित विक्रेता वा आधिकारिक निकायसँग आवश्यक जानकारी लिनु उपयुक्त हुन्छ ।
खाद्य वस्तुको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, प्रशोधन विधि, भण्डारण र सरसफाइ उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय हुन् । त्यसैले खाद्य पदार्थको गुणस्तरमा प्रश्न उठेपछि नियामक निकायले समयमै निगरानी, परीक्षण र आवश्यक कारबाही गर्नु महत्वपूर्ण मानिएको छ ।
विभागको यो निर्णयले नेपालमा आयात हुने खाद्य वस्तुको गुणस्तर परीक्षण र बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत उजागर मात्रै गरेको छैन आयातकर्ताले नाफालाई मात्र प्राथमिकता नदिई उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई केन्द्रमा राख्नुपर्ने खबरदारी गराएको छ ।