• Wednesday, September 16

नेपालमा पहिलो पटक विश्व आदिवासी युवा सम्मेलन आयोजना हुँदै

जेठ ३० र ३१ गते काठमाडौंमा १५० भन्दा बढी युवा नेताको सहभागिता, अधिकार, नेतृत्व र जलवायु न्यायका विषयमा छलफल हुने

Fm Radio Link

काठमाडौं । नेपालमा पहिलो पटक विश्व आदिवासी युवा सम्मेलन आयोजना हुने भएको छ। नेपाल आदिवासी जनजाति युवा महासंघ (YFIN Nepal) र राष्ट्रिय युवा परिषद् (NYC) को संयुक्त आयोजनामा जेठ ३० र ३१ गते (जुन १३–१४) काठमाडौंमा सम्मेलन हुन लागेको हो।

 

आयोजकका अनुसार सम्मेलनमा नेपालसहित विभिन्न देशका १५० भन्दा बढी आदिवासी युवा नेता, सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय संस्थाका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागिता रहनेछ।

‘हाम्रा जरा, हाम्रा अधिकार, हाम्रो नेतृत्व : आत्मनिर्णयका लागि सामूहिक आदिवासी आन्दोलन’ भन्ने मूल नारासहित आयोजना हुन लागेको दुईदिने सम्मेलनले आदिवासी जनजातिका अधिकार, युवा नेतृत्व तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका साझा मुद्दामा संवादको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाल आदिवासी जनजाति युवा महासंघका अध्यक्ष किरण श्रेष्ठले सम्मेलनले नेपाली आदिवासी युवाहरूलाई विश्व आदिवासी आन्दोलनसँग जोड्ने, उनीहरूका मुद्दा र अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तथा साझा दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने बताए। उनले जलवायु परिवर्तन, विस्थापन, भूमि अधिकार र प्राकृतिक स्रोतसम्बन्धी चुनौतीका विषयमा समेत गम्भीर छलफल हुने जानकारी दिए।

सम्मेलनमा आदिवासी युवा नेतृत्व र आत्मनिर्णयको अधिकार, जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण, भूमि अधिकार, वातावरण संरक्षण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति निर्माण प्रक्रियामा युवाको सहभागिताजस्ता विषयमा छलफल हुने जनाइएको छ।

आयोजकका अनुसार सम्मेलनको उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय आदिवासी युवा संस्थाका प्रतिनिधि, राष्ट्रिय युवा परिषद्, सरकारी निकाय, संयुक्त राष्ट्रसंघीय संस्था तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ। साथै आदिवासी समुदायका सांस्कृतिक प्रस्तुति पनि समावेश गरिनेछ।

सम्मेलनको अन्त्यमा ‘विश्व आदिवासी युवा घोषणापत्र’ जारी गरिनेछ, जसमा विश्वभरका आदिवासी युवाहरूका साझा प्राथमिकता, आकांक्षा र प्रतिबद्धताहरू समेटिने जनाइएको छ।

Give Your Thought

Latest Update