• Saturday, August 29

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने

भूमि मन्त्री रावलको घोषणा– भूमि व्यवस्थापन प्रक्रिया अघि बढिसकेको छ ।

Fm Radio Link

३ असार, काठमाडौं । सरकारले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले लालपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन् ।

छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीलाई लालपुर्जा दिने सरकारको योजना र प्रगतिबारे प्रश्न उठाएका थिए । उनले काठमाडौंका सुकुमवासीहरूलाई स्थानान्तरण गरी होल्डिङ सेन्टरमा राखिएको तर त्यहाँको व्यवस्थापन प्रभावकारी नभएको गुनासो पनि गरेका थिए ।

साम्पाङले उचित व्यवस्थापन गर्न नसक्ने अवस्था भए उनीहरूलाई पहिलेकै स्थानमा व्यवस्थित ढंगले बसोबास गर्न दिने विकल्पबारे पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री रावलले सुकुमवासीको भूमि व्यवस्थापनसम्बन्धी काम अघि बढिसकेको बताउँदै असारको तेस्रो सातादेखि लालपुर्जा वितरण थालिने स्पष्ट पारिन् ।

उनले भनिन्, “लालपुर्जा वितरणका लागि आवश्यक तयारी सुरु भइसकेको छ । असारको तेस्रो साताबाट वितरण प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइनेछ ।”

यसअघि सरकारले भूमि आयोगमार्फत सुकुमवासी व्यवस्थापनको काम गर्दै आएको थियो । हाल भने सरकारले नयाँ भूमि सम्बन्धी समिति गठन गरेर उक्त कार्यलाई अगाडि बढाइरहेको जनाएको छ ।

Give Your Thought

Latest Update