जंगली हात्तीको आतंकले शुक्लाफाँटावासी रातभर जाग्राम
पाक्नै लागेको धानबाली जोगाउन रातभर बस्तीको किनारमा पहरा, किसानमा चिन्ता र त्रास
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दा यतिबेला जंगली हात्तीबाट पाक्नै लागेको अन्नबाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएका जंगली हात्तीको समूह दैनिकजसो बस्ती प्रवेश गरी खेतबारीमा लगाएको धान तथा अन्य अन्नबाली नष्ट गर्न थालेपछि स्थानीयवासीमा चिन्ता र त्रास बढेको हो।
दर्जनौँको संख्यामा आउने जंगली हात्तीले भित्र्याउने बेला भएको धानबाली खानुका साथै कुल्चिएर नष्ट गर्न थालेपछि किसानलाई वर्षभरको मेहनत खेर जाने चिन्ता भएको छ। हात्ती बस्तीमा प्रवेश गर्ने क्रम बढेपछि स्थानीयवासीले रातभर खेत तथा बस्तीको किनारमा बसेर पहरा दिनुपर्ने अवस्था आएको छ।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय रामकिसन रानाका अनुसार जंगली हात्ती दैनिकजसो बस्तीमा प्रवेश गरी खेतबारीमा लगाएको बालीमा क्षति पुर्याउने गरेका छन्। हात्तीले खेतमा प्रवेश गरेपछि पाक्न लागेको बाली ठूलो मात्रामा नष्ट हुने गरेको उनले बताए।“बाली जोगाउन हामी रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ। हात्ती कहिले कुनतिरबाट आउँछ भन्ने थाहा हुँदैन। राति खेतमा हात्ती पसेपछि गाउँका मानिसहरू मिलेर होहल्ला गर्दै धपाउने गरेका छौँ,” रानाले भने।
शुक्लाफाँटा नगरपालिकाका निकुञ्जसँग सीमा जोडिएका वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ का विभिन्न बस्तीमा जंग ली हात्तीको प्रभाव बढी देखिएको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले बताए। उनका अनुसार यी वडाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आसपासमा पर्ने भएकाले जंगली हात्तीको आवतजावत बढी हुने गरेको छ। हात्तीको समूह खेतबारी तथा बस्तीमा प्रवेश गर्दा किसानले लगाएको बालीमा ठूलो क्षति पुग्ने गरेको उनले बताए। “निकुञ्जको किनारमा रहेका बस्तीमा हात्तीको समस्या वर्षेनी दोहोरिँदै आएको छ। अहिले धान पाक्ने समय भएकाले हात्तीको प्रवेशले किसान झन् बढी चिन्तित छन्,” विष्टले भने।
यसैबीच, शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा समेत जंगली हात्तीको समस्या वर्षेनी बढ्दै गएको स्थानीय समाजसेवी दानसिंह कुँवरले बताए। उनका अनुसार हात्ती दैनिकजसो बस्ती प्रवेश गरी खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्ने गरेका छन्। “सिमलफाँटामा वर्षेनी जंगली हात्तीको समस्या दोहोरिन्छ। किसानले ठूलो मेहनत गरेर उत्पादन गरेको अन्नबाली पाक्ने बेलामै हात्तीले नष्ट गरिदिन्छ। त्यसैले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सम्बन्धित सरोकारवाला निकायले यसको दीर्घकालीन समाधानका लागि वैकल्पिक तथा प्रभावकारी उपाय तत्काल अवलम्बन गर्नुपर्छ,” कुँवरले भने। आरक्ष विस्तारका क्रममा विस्थापित भएर सिमलफाँटा क्षेत्रमा बसोबास गर्दै आएका परिवारसँग सीमित जमिन रहेको उल्लेख गर्दै कुँवरले त्यही जमिनमा उत्पादन गरेको अन्नसमेत जंगली हात्तीले नष्ट गरिदिँदा स्थानीय किसान थप समस्यामा परेको बताए। “विस्थापित भएर आएका परिवारसँग पर्याप्त जमिन छैन। भएको थोरै जमिनमा लगाएको अन्नबाली पनि हात्तीले खाएर तथा कुल्चिएर नष्ट गरिदिएपछि यी परिवारले वर्षभरि के खाने भन्ने समस्या उत्पन्न भएको छ,” उनले भने। स्थानीयवासीका अनुसार जंगली हात्ती नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज तथा सम्बन्धित निकायबाट विभिन्न प्रयास हुँदै आए पनि बस्ती र खेतबारीमा हात्तीको प्रवेश रोक्न प्रभावकारी उपाय अझै आवश्यक देखिएको छ।
धानबाली भित्र्याउने समय नजिकिँदै गर्दा हात्तीको उपद्रो बढेपछि किसानहरू रातभर जाग्राम बस्न बाध्य छन्। स्थानीयवासीले हात्ती नियन्त्रणका लागि बस्ती आसपास प्रभावकारी सुरक्षा व्यवस्था, नियमित निगरानी तथा दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्।
जंगली हात्तीका कारण वर्षेनी अन्नबालीमा क्षति व्यहोर्दै आएका किसानले तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सम्बन्धित निकायसँग आग्रह गरेका छन्। मानव बस्ती र वन्यजन्तुको सुरक्षित सहअस्तित्व कायम गर्दै किसानको खेतीपाती जोगाउने दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयवासीको माग छ।

Give Your Thought5>