Thursday, July 30

Latest Update :

सुनसरी घटनापछि दलहरूको सामूहिक अपिल ः सामाजिक सद्भाव र शान्ति कायम राख्न आह्वान

image

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा हालै विकसित अत्यन्तै संवेदनशील र दुःखद घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त अपिल जारी गरेको छ। बैठकपछि जारी संयुक्त वक्तव्यमा पछिल्ला घटनाक्रममा परि ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै घाइते सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। नेपालको पहिचान नै विविधताबिचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सदियौँदेखि कायम भातृत्व र सद्भाव खलबल्याउने कुनै पनि अवाञ्छित गतिविधि तथा उत्तेजनामा नआउन आम नागरिकहरूमा अपिल गरिएको छ। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ। लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भन्दै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न सम्बद्ध सबै पक्षलाई आह्वान गरिएको छ।

शान्ति र सद्भाव कायम राख्न केन्द्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर सक्रिय हुन आफ्ना पार्टीका समितिहरूलाई निर्देशनसमेत दिइएको छ। यस्ता संवेदनशील घटनाहरू भविष्यमा दोहोरिन नदिन राजनीतिक दलका केन्द्रीय तहबाट आवश्यक पहलकदमी, निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्तो संवेदनशील समयमा सामाजिक सञ्जालबाट फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले स्थिति थप भयावह बनाउन सक्ने भएकाले सामाजिक सञ्जालको अत्यन्तै जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गर्दै सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। 

साथै, नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै अधिकतम संयमता अपनाउँदै परिस्थिति सामान्यीकरण गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न दृढ सङ्कल्पित रहेको जनाइएको छ। संयुक्त विज्ञप्तिमा रवि लामिछाने (सभापति, रास्वपा), गगन थापा (सभापति, नेपाली कांग्रेस), पुष्पकमल दाहाल (संयोजक, नेपाली कम्युनिस्ट पार्टी), शंकर पोखरेल (महासचिव, नेकपा एमाले), आरेन राई (महासचिव, श्रम संस्कृति पार्टी), महन्थ ठाकुर (अध्यक्ष, लो.स.पा.), राजेन्द्र लिङ्देन (अध्यक्ष, राप्रपा), सीके राउत (अध्यक्ष, जनमत पार्टी) र प्रकाश अधिकारी (नेता, जसपा नेपाल) ले हस्ताक्षर गर्नुभएको छ।

Latest Update