धनगढी , बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ चौसेरा र कुयादहका करिब ५० किसानले दुई महिनामा दुई करोडको तरकारी बिक्री गरेका छन्। सरकारले भारतबाट आउने तरकारीमा प्रतिबन्ध लगाएपछि डिलासैनी–६ का किसानले गत बैशाख र जेठमा दुई करोडको तरकारी बिक्री गरेका हुन्। चैसेरा र कुयादहमा बसोबास गर्ने हरेक परिवारले तरकारी खेती गर्दै आएका छन्। जसमध्ये ७३ वर्षीय प्रेमसिंह माल गाउँकै अग्रणी किसान हुन्। २०४३ सालदेखि तरकारी खेती गर्दै आएका अगुवा किसान माल तत्कालीन गोकुलेश्वर गाउँ पञ्चायतका प्रधानपञ्चसमेत हुन्। मालले हरेक वर्ष १५ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन्।
तरकारी खेतीमा लामो समयदेखि सक्रिय प्रेमसिंह मालले यो पटक पहिलो चोटी उत्पादित तरकारीले राम्रो बजार पाएको सुनाए। उनले बैशाख र जेठमा उत्पादन भएको काक्रा, लौकी, फर्सी, टमाटर, घिरौलालगायतका तरकारीले राम्रो मूल्य पाएको बताए। सरकारले भारतबाट आयात हुने तरकारीमा प्रविबन्ध लगाएकाले आफूहरुले उत्पालन गरेको तरकारीले उचित मूल्य पाएको मालले सुनाए। यो वर्ष सरकारले भारतबाट तरकारी आउन नदिएकाले हामी किसानलाई फाइदा भयो, उनले भने, यो पटक पहाडमा भारतीय तरकारी नआउँदा तरकारी बिक्री गर्न समस्या भएन भने मूल्य पनि राम्रो मिल्यो। प्रेमसिंहमालले दुई महिनामा गाउँमा किसानले दुई करोडभन्दा बढो तरकारी बिक्री गरेको बताए। उनले भने, हाम्रो गाउँमा तरकारी खेती गर्ने किसान पचास परिवार जति छन्। सबैको हिसाब गर्ने हो भने बैशाख र जेठमा मात्रै गाउँमा दुई करोडभन्दा बढी रुपैयाँ तरकारी बिक्री गरेर भित्रिएको हुनुपर्छ।
चैसेरा र कुयादहका युवादेखि बृद्ध किसानले तरकारी खेती गर्दै आएका छन्। स्नातक अध्ययन गरेका २८ वर्षीय नवीन माल २०७७ देखि तरकारी खेती गर्दै आएका छन्। ६ रोपनी जग्गामा तरकारी खेती गरेका उनले धनगढीबाट भारतको तरकारी नआएकाले यो वर्ष बैशाख र जेठमा आफूहरूले उत्पादन गरेको तरकारीले बजार पाएको बताए। उनले यो वर्ष काक्रा, लौका, फर्सी, सिमी, भन्टा, भेडेखोर्सानी, करेला र तोरियालगायतका तरकारी स्थानीय बजारमै बिक्री गरेको बताए। यो वर्ष धेरै राम्रो भयो। सरकारको नियमले हामी किसानलाई धेरै फाइदा भयो, उनले भने, यो नियमले निरन्तरता पाएमा किसानलाई निकै राम्रो हुन्छ। २०५२ सालदेखि तरकारी खेती गर्दै आएका ६५ वर्षीय रामसिंह मालले ९ रोपनी जग्गामा तरकारी खेती गरेको बताए। उनले यो वर्ष बैशाख र जेठमा लौका मात्रै एक लाखको बिक्री गरेको बताए। उनले बारीमै ८० रुपैयाँका दरले काक्रा, लौका र करेला बिक्री गरेका हुन्। यो वर्ष उत्पादन गरेको तरकारी बिक्री गर्न धेरै सजिलो भयो। स्थानीय बजारमै सजिलै तरकारी खपत भयो, उनले भने, सरकारले सधैं भारतबाट आउने तरकारी रोक्यो भने हामी किसानहरूलाई राम्रो हुन्थ्यो।
डिलासैनी६ कै ३४ वर्षीय पदमबहादुर बोहरा दस वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। उखुखेती, बाख्रा पालन र केराखेती गर्ने बोहराले यो पटक १० रोपनीमा तरकारी खेती गरेका थिए। भारतको तरकारी बजारमा नआउँदा आफूले उत्पादन गरेको तरकारी बैतडी र दार्चुलाको स्थानीय बजारमा सजिलै बिक्री भएको उनले सुनाए। बोहराले साढे ६ लाखको तरकारी बिक्री गरेको बताए। यो पटक सरकारको नीतिले हामी किसानलाई फाइदा पुगेको छ। बैतडी र दार्चुलाको बजारमा हामीले उत्पादन गरेको तरकारी सजिलै बिक्री भयो, उनले भने, बाहिरको तरकारी बन्द हुँदा बैशाख र जेठमा मात्रै हाम्रो गाउँका किसानहरूले तरकारी खेतीबाट मात्रै दुई करोडभन्दा बढीको कारोबार गरेका छन्।
सरकारको नीतिले गर्दा किसानहरूले पहिलो पटक आफ्नो उत्पादन बजारमा सजिलै बिक्री गर्न पाएको बोहराले बताए। उनले आफूले उत्पादन गरेको केरा स्थानीय बजारमा १२० रुपैयाँ दर्जनका हिसाब बिक्री भइरहेको बताए। चैसेरा र कुयादहका किसानले पहिलो चोटी आफ्नो उत्पादनले बजार पाएको बताएका छन्। उनीहरूले सरकारको नीतिले उत्पादन बिक्री भएको बताए पनि स्थानीय र प्रदेश सरकारबाट भने कुनै सहुलियत र सहयोग नपाएको बताएका छन्।