Friday, August 07

Latest Update :

बझाङबाट चरेस र पुराना सिक्कासहित किराना पसल सञ्चालक पक्राउ

image

बझाङ, जिल्ला प्रहरी कार्यालय बझाङले लागूऔषध (चरेस), पुराना ऐतिहासिक सिक्का र नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जयपृथ्वी नगरपालिका वडा नं. ११ धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नरूका सञ्चालक ४८ वर्षीय जयराज जोशीलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ः०० बजे पसलमा छापा मारेको थियो। खानतलासीका क्रममा प्रहरीले चरेस जस्तै देखिने कालो पदार्थ शुद्ध तौल ५० ग्राम ५१ मिलिग्राम बरामद गरेको छ।

यसैगरी, सामान तौलिन प्रयोग गरिने १ थान हाते तराजु, सन् १८५० को उल्लेख भएको  ‘One Rupee India 1850’  लेखिएका १२ थान पुराना भारतीय सिक्का र नगद रु. १२ हजार ४ सय समेत बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब २ किलोमिटर पूर्व पर्ने उक्त स्थानबाट पक्राउ परेका जोशी र बरामद गरिएका सामग्रीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।