Sunday, September 06

Latest Update :

चुनावी मञ्चमा ‘स्विजरल्याण्डको बाउ यहीँ छ बडीमालिका’ भनिए पनि बजेटको प्राथमिकतामा परेनः मेयर खड्का

image

 

 

नगर प्रमुख खड्काका अनुसार ठूला सभा र चुनावी प्रचारका क्रममा “स्विजरल्याण्डको बाउ यहीँ छ बडीमालिका“ भन्दै नाम बेचेर सस्तो लोकप्रियता कमाउने काम मात्रै भएको छ।  मेयर खड्काले बजेट र पूर्वाधारको नाममा जनतालाई झुक्याउने काम भएको भन्दै सरकार र मातहतका निकायप्रति कडा रोष प्रकट गरे।

 

 


धनगढी , १९ भदौ
 चुनावी मञ्चमा पुगेर बालेन्द्र शाहले सुदूरपश्चिमको पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै “स्विजरल्याण्डको बाउ यहीँ छ बडीमालिका“ भन्दै उच्च प्राथमिकताका साथ भाषण गरेका थिए। चुनावी सभामा बडीमालिकाको सुन्दरता र महत्वलाई मुख्य एजेन्डा बनाएर प्रस्तुत गरिए पनि सरकारको वार्षिक नीति तथा बजेट विनियोजनका क्रममा भने यो क्षेत्र सरकारको सामान्य नोटिसमा समेत पर्न सकेन।  
चुनावी भाषणमा निकै प्राथमिकता पाएको यो प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र बजेटमा पूर्ण रूपमा उपेक्षामा परेपछि बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले सदूर सन्देश सम्बादमा बोल्दै  कडा आपत्ति जनाएका छन्। मेयर खड्काले मञ्चमा बोलिने मिठा भाषण र व्यावहारिक कार्यान्वयनमा ठूलो भिन्नता देखिएको टिप्पणी गरे।


नेपालकै अनुपम धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा रहेको बडीमालिका क्षेत्रलाई राष्ट्रिय बजेटमा न्यूनतम प्राथमिकतामा समेत नराखेपछि स्थानीय जनप्रतिनिधि र बासिन्दा तीव्र आक्रोशित बनेका हुन्। नगर प्रमुख खड्काका अनुसार ठूला सभा र चुनावी प्रचारका क्रममा “स्विजरल्याण्डको बाउ यहीँ छ बडीमालिका“ भन्दै नाम बेचेर सस्तो लोकप्रियता कमाउने काम मात्रै भएको छ।
मेयर खड्काले बजेट र पूर्वाधारको नाममा जनतालाई झुक्याउने काम भएको भन्दै सरकार र मातहतका निकायप्रति कडा रोष प्रकट गरे। नेपाल पर्यटन बोर्डले बडीमालिका जस्तो विशाल र बहुचर्चित पर्यटकीय क्षेत्रका लागि वार्षिक रूपमा ५ करोड रुपैयाँ मात्रै विनियोजन गरेर औपचारिकता मात्र निभाएको उनले बताए। त्यस्तै, भौगोलिक विकटता रहेको स्थानमा सडक विभागले ‘फोरलेन बाटोको सम्भाव्यता अध्ययन’ गर्ने जस्ता हास्यास्पद कुरा अघि सारेर सर्वसाधारण जनता र बाजुरावासीलाई ठग्ने काम गरेको आरोप मेयर खड्काले लगाए।  


समुद्र सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले भरिपूर्ण भए पनि पूर्वाधारको चरम अभावका कारण अझै पछाडि परेको छ। व्यवस्थित पदमार्ग, खानेपानी, स्वास्थ्य चौकी, सुरक्षा र सञ्चार जस्ता आधारभूत सुविधा नहुँदा यहाँ पुग्ने हजारौँ धार्मिक पर्यटक तथा दर्शनार्थीहरूले हरेक वर्ष ठूलो सास्ती भोग्दै आएका छन्।

 
स्थानीय सरकारको सीमित स्रोत र साधनले मात्रै यो विशाल पर्यटकीय क्षेत्रको स्तरोन्नति र पूर्वाधार निर्माण गर्न सम्भव नहुने भएकाले सङ्घीय सरकारको प्राथमिकता र बजेट अनिवार्य मानिन्छ। तर, हास्यास्पद आश्वासन र नगण्य बजेटका बीच बडीमालिकाको वास्तविक विकास हुन नसक्नु दुःखद रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। उनीहरूले अब केवल चुनावी भाषण वा राजनीतिक प्रचारका लागि मात्रै बडीमालिकाको नाम नलिन चेतावनी दिँदै व्यावहारिक रूपमै राष्ट्रिय गुरुयोजना बनाएर पर्याप्त बजेट विनियोजन गर्न सङ्घीय सरकारसँग जोडदार माग गरेका छन् ।

 

Latest Update