Sunday, September 06

Latest Update :

विहान तीन बजेदेखि ग्यासको लाईन

image

 
काठमाण्डौ,२०भदौ 
इरान–अमेरिका युद्धको बहानामा शुरू भएको ग्यास अभाव महिनौंदेखि ज्यूँका त्यूँ छ । अझ पछिल्लो समय भोटेकोशी बाढी र त्रिशूलीको कटानले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी काठमाडौंको आपूर्ति शृंखला नै खल्बलिएको छ ।

काठमाडौंमा खाली ग्यास सिलिन्डरको लाइन लाग्न थालेको आजभोलि मात्र होइन, लामो समयदेखि हो । कृष्णभीरको पहिरोपछि झन् लामा–लामा लाइन देखिन थालेका छन् ।प्राकृतिक विपत्ति, व्यापारीको कालोबजारी र सरकारको लाचारी— यी तीन कुराको चपेटामा यतिबेला काठमाडौं उपत्यकाका लाखौँ नागरिक परेका छन् ।
कीर्तिपुरका रामचन्द्र सुवेदी बिहान ५ बजेदेखि यही लाइनमा छन् । विगत पाँच दिनदेखि भौँतारिए पनि ग्यास नपाएपछि आजित सुवेदी भन्छन  ’दुईतिहाइको सरकार आएपछि सुख पाइएला भनेको, बाध्य भएर बिजुली चुलो बाल्नुपरेको छ ।’

लाइनमा भेटिएका लक्ष्मणसिंह बोहोरा कृष्णभीरमा गएको पहिरोलाई दोष दिन्छन् । तर, केदारनाथ ओझाको बुझाइ अर्कै छ । उनी भन्छन्, ’यो प्राकृतिक विपत्ति मात्र होइन, व्यापारीको कालोबजारी हो । मूल्य बढाउने र रातारात नाफा कमाउने लोभमा ग्यास लुकाइएको छ । सिधै उपभोक्तालाई ग्यास बाँडे समस्या समाधान हुन्छ ।’

यही लाइनमा बिहान ८ बजेदेखि हातमा किताब समातेर परीक्षाको तयारी गरिरहेकी छात्रा मालिका लामिछाने पनि भेटिइन् । उनको गुनासो नागरिकसँगै छ— ’कसैले घरमा ४–५ वटा सिलिन्डर थुपारेर राखेका छन्, जसले गर्दा अरूले ग्यास पाएनन् । संकटका बेला सरकारले एक घर, एक सिलिन्डरको नियम कडा रूपमा लागू गर्नुपर्छ ।’
तर, यो लाइनमा सबैभन्दा बढी आक्रोश तब फुट्छ, जब बिहान ३ बजेदेखि उभिएका सर्वसाधारणलाई लत्याउँदै पहुँचवालाहरू अघि बढ्छन् ।

लाइनमा भेटिएका रमेश श्रेष्ठका अनुसार वर्दीमै आएका प्रहरी र सरकारी कर्मचारीहरू विनालाइन सरासर ग्यास बोकेर लैजान्छन् । नियम र कानून केबल निमुखालाई मात्र हो ? रातिको समयमा ग्यास ढुवानी गरेर बिहानै बाँड्ने व्यवस्था गर्न सरकारलाई केले रोकेको छ ?

खाली सिलिन्डर बोकेर सडकमा उभिएका नागरिकको आक्रोशले सरकारको सुशासनलाई गिज्याइरहेको छ । विपत्तिको फाइदा उठाउँदै कालोबजारी गर्ने व्यापारी र लाइन मिच्ने पहुँचवालालाई कारबाही नभएसम्म जनताको चुलो बल्नेवाला छैन ।
 

Latest Update