Sunday, September 06

Latest Update :

लगातार पहिरो आउन थालेपछि अपिहिमालको भट्टार बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सारियो

image

दार्चुला, भदौ २० । उच्च जोखिममा रहेको दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार बस्तीमा लगातार पहिरो आउन थालेपछि त्यहाँका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बिहानदेखि खस्न थालेको पहिरो दिउँसो १ बजेपछि निरन्तर २ घण्टासम्म ठूलो रूपमा खसेपछि बस्ती नै जोखिममा परेर स्थानीयलाई स्थानान्तरण गरिएको हो। भट्टारमा खसेको ठूलो पहिरोका कारण मूल नदी चमेलिया झन्डै आधा घण्टा थुनिएर ताल बनेको थियो। अहिले नदीले आफैँ कटान गरेर थुनिएको ताल आंशिक रूपमा फुकिसकेको भए पनि पहिरो आउने क्रम नरोकिएकाले भट्टार बस्तीका मानिसहरूलाई नजिकैको अर्को सुरक्षित ठाउँमा सारिएको गाउँपालिका अध्यक्ष भक्त बोहोराले जानकारी दिनुभयो।

 

चमेलिया आसपासदेखि तराईसम्म उच्च सतर्कता अपनाउन आग्रह

 

केही समयअघि रसुवाको भोटेकोसीमा एकाएक बाढी आएर ठूलो क्षति पुर्‍याएजस्तै चमेलिया नदीमा पनि आकस्मिक विपद् आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ। नदी थुनिएर फुटेमा वा ठूलो बाढी आएमा चमेलिया आसपासका बस्तीहरूका साथै तराईसम्मका क्षेत्रमा समेत असर पर्नसक्ने भएकाले नदी किनारका सबै नागरिकलाई सचेत र सजग रहन विपद् विज्ञहरूले आग्रह गरेका छन्।

चमेलियामा ३ वटा ठूला जलविद्युत् आयोजनाका ड्यामहरू रहेकाले बाढीले क्षति पुर्‍याए ठूलो विनाश हुनसक्ने भन्दै दार्चुलाका अपिहिमाल, मार्मा, मालिकार्जुन, लेकम, शैल्यशिखर नगरपालिकालगायत बैतडी र तराईका तटीय क्षेत्रका नागरिकलाई सजग रहन जिल्ला प्रशासनमार्फत अपिल गरिएको छ । 

 

बस्तीका मानिसहरूलाई हिजो नै सारिसकिएको छ भने आज बिहानैदेखि स्थानीयका गाईवस्तु, चौपाया र रासनसमेत सुरक्षित ठाउँमा सार्ने काम भइरहेको अध्यक्ष बोहोराले बताउनुभयो। उद्धार तथा व्यवस्थापनका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली, कर्मचारी, स्वयंसेवकका साथै जिल्लाबाट डिएसपीको कमान्डमा सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ।

 

बालीनालीमा क्षति 

 

लगातारको पहिरोले बस्तीको जमिन र खेतबारी बगाउनुका साथै पाक्ने समय भएको मकै बालीमा समेत ठूलो क्षति पुर्‍याएको छ। स्थायी स्थानान्तरणका लागि सङ्घ र प्रदेशसँग गुहार गाउँपालिकाका चमेलिया नदी बेसिनबाहेक क्षेत्ती गाड, गोठागाड, रिगुर खोला र मुकरीगाड खोला किनारका बस्तीहरू पनि बाढी-पहिरोको उच्च जोखिममा रहेको अध्यक्ष बोहोराले बताउनुभयो। विकट हिमाली तथा पहाडी भूगोल भएकाले गाउँपालिकाको एक्लो प्रयासले मात्र जोखिम नियन्त्रण असम्भव रहेको भन्दै उहाँले पुनर्निर्माण र जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सङ्घीय र प्रदेश सरकारसँग सहयोगको अनुरोध गर्नुभएको छ

Latest Update