Thursday, October 08

Latest Update :

एमालेसँग लेखराज भट्टको असन्तुष्टि बढ्यो, पार्टी छाड्ने चर्चा

image

धनगढी,२१ असोज

नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट पछिल्लो समय पार्टी नेतृत्वसँग खुलेर असन्तुष्ट देखिन थालेका छन्। विशेषगरी सुदूरपश्चिम सरकार सञ्चालन, नियुक्ति र बजेट निर्माणमा केन्द्रबाट भइरहेको हस्तक्षेपप्रति उनको असन्तुष्टि सतहमा आएको छ। एमालेको साझेदारीमा रहेको सुदूरपश्चिम सरकार सञ्चालनमा आफूलाई बाइपास गरिएको भन्दै भट्टले असन्तुष्टि पोख्दै आएका छन्। प्रदेश नीति तथा योजना आयोगमा एमालेको तर्फबाट सदस्य नियुक्त गर्दा पनि आफूलाई कुनै जानकारी नदिइएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका छन्। उक्त नियुक्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको उनको बुझाइ छ।

 

चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई लिएर पनि भट्ट असन्तुष्ट छन्। बजेट निर्माणमा प्रदेश नेतृत्वसँग पर्याप्त समन्वय नगरी केन्द्रबाट हस्तक्षेप गरिएको उनको बुझाइ छ। पार्टीका आन्तरिक बैठकमै उनले केन्द्रबाट हुने हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै आएका छन्। 

 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको ‘पार्टी जागरणको विशेष अभियान–२०८३’ को समीक्षा तथा परामर्श बैठकमा पनि भट्टले सुदूरपश्चिम प्रदेश सरकार र बजेट निर्माण प्रक्रियाका विषयमा केन्द्रसँग आफ्नो मत बाझिएको बताएका छन्। भट्टको असन्तुष्टि सार्वजनिक भएसँगै उनले एमाले छोड्ने चर्चा पनि सुरु भएको छ। तर, भट्टले तत्काल एमाले छोड्ने विषयमा नसोचेको बताएका छन्। ‘पार्टी छोड्ने भए त छोडिसक्थेँ,’ उनले भने, ‘बजेट प्रक्रियामा मेरा असहमति छन्। ती असहमति मैले नेतृत्वसमक्ष राख्दै आएको छु।’

 

भट्टको राजनीतिक इतिहास हेर्दा पार्टी नेतृत्वसंग दूरी बढेको यो पहिलोपटकको होइन। माओवादीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट मानिने उनी एमाले–माओवादी एकतापछि सुदूरपश्चिमको नेतृत्वमा भीम रावललाई प्राथमिकता दिइएपछि दाहालसँग टाढिएका थिए। त्यसपछि माओवादी छोड्दै ओलीको साथमा उभिएका भट्ट अहिले फेरि एमाले नेतृत्वसँग असन्तुष्ट देखिएका छन्।