Wednesday, October 14

Latest Update :

धनगढीमा मुख्यमन्त्री भट्टद्वारा दुई पुस्तक विमोचन

image

धनगढी, २६ असोज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धनगढीमा आयोजित एक विशेष समारोहका बिच दुई नवीन पुस्तकको विमोचन गर्नुभएको छ।  

आध्यात्मिक तथा सांस्कृतिक अभियान्ता एवं वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर शाहद्वारा लिखित कृति "आत्मचिन्तन" र लेखक शाह तथा उहाँकी धर्मपत्नी विमला शाहद्वारा संयुक्त रूपमा रचित यात्रासंस्मरण "बेलायत यात्रा: एक संस्मरण" को संयुक्त रूपमा विमोचन गरिएको हो।  

चट्कपुरस्थित सहिद गेट नजिक आयोजित उक्त विमोचन समारोह वैद्यनाथक्षेत्र प्रकाशन समिति, अछामको आयोजनामा सम्पन्न भएको थियो।  

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री खगराज भट्टले कृतिहरूको विमोचन गर्दै नेपाली साहित्य, संस्कृति तथा यात्रा संस्मरणका क्षेत्रमा यी पुस्तकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।  

समारोहमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, समाजसेवी डा. यमराज भट्ट, बासुदेव पाण्डे लगायत स्थानीय बुद्धिजीवी, साहित्यकार, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

वैद्यनाथक्षेत्र प्रकाशन समितिका कार्यवाहक संयोजक महेशविक्रम शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूले विमोचित पुस्तकहरू र लेखक दम्पतीको योगदानमाथि चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।