Friday, October 16

Latest Update :

रुपन्देहीमा लाइसेन्स वितरणमा अनियमितता, १३ जनाको लाइसेन्स खारेज गर्न निर्देशन

image

काठमाडौं ,२८ असोज

यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा परीक्षाको नतिजा नै फेरबदल गरी गैरकानुनी रूपमा सवारी लाइसेन्स वितरण गरिएको खुलासा भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको विस्तृत अनुसन्धानमा लिखित परीक्षा तथा ट्रायलको नतिजामा चरम किर्ते र फर्जी अभिलेख खडा गरी लाइसेन्स जारी गरिएको पुष्टि भएको हो।

 

आयोगका अनुसार २०७८ साल असार ११ गते सञ्चालन गरिएको लिखित परीक्षा र असार १४ गते लिइएको ट्रायल परीक्षाको नतिजामा अनधिकृत रूपमा केरमेट, थपघट र सच्याएर झुट्टा विवरण तयार पारिएको थियो । यसरी नियमविपरीत परीक्षा उत्तीर्ण गराई १३ जनालाई ‘जे-१’ र ‘जे-२’ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको भेटिएको छ । गैरकानुनी रूपमा लाइसेन्स पाउनेहरूमा इन्द्र जिसी, सञ्जु खाँड, दीपेन्द्र कुँवर, खिमबहादुर ढेंगा, डिलबहादुर आचार्य, यदु खड्का, विकास घिमिरे, सूर्यबहादुर थापा, रुद्रबहादुर गाहा मगर, शम्भु केसी, लेखबहादुर रेश्मी, ओमप्रकाश चौधरी र आसिफ खवास छन् ।

 

अख्तियारले यसरी जारी गरिएका फर्जी लाइसेन्सहरू तत्काल रद्द गर्न र संलग्न कर्मचारी तथा व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। आयोगले लुम्बिनीको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई लाइसेन्स नम्बर र वर्गसहितको विवरण संलग्न गरी कारबाहीको ताकेता गरेको हो ।

Latest Update