Sunday, November 15

Latest Update :

राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडीले प्रतिस्पर्धा गर्ने

image

धनगढी, २८ कात्तिक 

कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले खेलाडी छनोट सुरु गरेको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो। धनगढी रंगशालामा मुख्यमन्त्री खगराज भट्टले छनोट प्रतियोगिताको उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलमध्ये सुदूरपश्चिमले ३० खेलमा सहभागिता जनाउने तयारी गरेको छ।

 

 

छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन भइरहेको छ। मंसिर १ गतेसम्म चल्ने छनोट प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाबाट खेलाडी तथा प्रशिक्षक गरी २९ सय जना सहभागी भएका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट खेलाडी, प्रशिक्षक र अफिसियल गरी कुल ७४४ जनाको सहभागिता रहने परिषद्ले जनाएको छ। प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोर्ट्सका खेल सञ्चालन भइरहेका छन्। 

 

त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका प्रतियोगिता सञ्चालन भइरहेका छन् भने डडेल्धुरामा भलिबल भइरहेको छ। कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले सीमित स्रोतसाधनका बाबजुद सुदूरपश्चिममा प्रतिभाशाली खेलाडी उत्पादन हुनु प्रदेशका लागि गौरवको विषय भएको बताए। खेलाडीको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई उचित अवसर र मार्गदर्शन प्रदान गर्ने तथा खेलकुद क्षेत्रका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको मुख्यमन्त्री भट्टले बताए।

Latest Update