नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन स्वीकार्य हुन नसक्ने बताएका छन्। इतर पक्षको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस कसैले हाइज्याक गर्न नसक्ने बताए। उनले भने, ‘पार्टी सभापति मै छु, मैले हुन्छ भनेकै छैन। उनीहरूले विशेष अधिवेशन बोलाएर गगन थापा सभापति हुनुभएको छ।’ विशेष महाधिवेशनको निर्णयविरुद्ध पार्टीका नेताहरूले अदालतमा मुद्दा हालेको र आफूले अदालतबाट निष्पक्ष न्याय पाउने विश्वास राखेको बताए। आफूले विगतमा पञ्चायतकालदेखि राजा ज्ञानेन्द्रको शासनकालसम्म पनि न्यायालयबाट न्याय पाएको स्मरण गरे।
देउवाले थपे, ‘राजाको शासनमा, ज्ञानेन्द्रको शासनमा हिम्मत गर्ने अदालतले अहिले किन गर्न सक्दैनरु मलाई विश्वास छ, अहिले न्याय हुन्छ।’नेपाली कांग्रेस कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट बनेको पार्टी भएको बताए। ‘यो पार्टीलाई कसैले खोस्न सक्दैन। यो पार्टी नेपाली जनताले बनाएको पार्टी हो। नेपाली जनताका प्रतिनिधिबाहेक अरू कसैले यो पार्टीलाई हाइज्याक गर्न सक्दैन’ उनले भने।
आफूलाई पाँचपटक प्रधानमन्त्री बन्न सहयोग गरेको पार्टीप्रति जीवनभर समर्पित हुन तयार हुनुपर्ने बताए। उनले थपे, ‘जुन पार्टीले मलाई पाँच पटकसम्म प्रधानमन्त्री बन्न मद्दत गर्यो, त्यो पार्टीलाई पनि ज्यान दिन तयार हुनुपर्छ।’