नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिम प्रदेशका छ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा समूहले प्रदेशका पहाडी जिल्लामा अधिवेशन सकेर नेतृत्व चयन गरेको हो। सम्पन्न अधिवेशनबाट बैतडी, डडेल्धुरा, डोटी, दार्चुला, बाजुरा र बझाङमा नयाँ जिल्ला सभापति चयन भएका छन्। बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराम जोशी, डोटीमा बाजिसिंह खड्का, दार्चुलामा सुरेन्द्रराज अवस्थी, बाजुरामा धनराज पण्डित र बझाङमा हर्कजंगबहादुर सिंह सभापति बनेका छन्।
बाँकी कैलाली, कञ्चनपुर र अछाममा अधिवेशन हुन बाँकी रहेको बताइएको छ। जिल्ला अधिवेशनपछि देउवा समूह प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। सुदूरपश्चिम प्रदेशको अधिवेशन मंसिर १५ र १६ गते धनगढीमा गर्ने तयारी छ। अधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गर्ने कार्यक्रम तय भएको प्रदेश सभापति बीरबहादुर बलायरले बताए।