धनगढी , धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित नन्दिनाज एकेडेमीमा शुक्रबारदेखि ‘नन्दिनाज ः MUN २०८३’ (Model United Nations) सुरु भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, बहस तथा वार्ता सीपको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन ग्ल्ँएब् का प्रदेश प्रमुख राजकुमार ढुङ्गानाले गरेका हुन्। कार्यक्रम नन्दिनाज एकेडेमीको आयोजना तथा रोटर्याक्ट क्लब अफ धनगढी नेक्स्ट जेन र रोटरी क्लब अफ धनगढीको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको छ। कार्यक्रम साउन १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। एकेडेमीका निर्देशक महेश बिष्टका अनुसार ः MUN मार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा हुने छलफल, कूटनीतिक वार्ता, सहकार्य तथा नेतृत्व विकासको व्यावहारिक अनुभव दिलाउने उद्देश्य राखिएको छ। सहभागीहरूले संयुक्त राष्ट्रसंघको कार्यशैलीअनुसार विभिन्न समसामयिक अन्तर्राष्ट्रिय विषयमा विभिन्न देशका प्रतिनिधिका रूपमा बहस, छलफल र कूटनीतिक वार्ताको अभ्यास गर्ने अवसर पाउनेछन्।
यस वर्षको कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत १३ विद्यालयका ८० जना विद्यार्थी सहभागी भएका छन्। उनीहरूले विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै विश्वव्यापी मुद्दाहरूमा आफ्नो धारणा प्रस्तुत गर्ने, समाधान खोज्ने तथा समूहगत निर्णय प्रक्रियामा सहभागी हुनेछन्। आयोजकका अनुसार ः MUN केवल एउटा कार्यक्रम मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, सार्वजनिक बोल्ने कला, तार्किक सोच, सहकार्य र नेतृत्व क्षमता अभिवृद्धि गर्ने प्रभावकारी शैक्षिक अभ्यास हो। नन्दिनाज एकेडेमीले यसअघि पनि यस्ता व्यक्तित्व विकासमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने तीन समूहलाई पुरस्कार प्रदान गरिनेछ। आयोजकले विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।