धनगढी , भदौ १२ । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई रु २ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको बैठकले प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि प्रदेश सरकारका तर्फबाट रु। २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै,प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने समेत निर्णय गरिएको मन्त्री रावलले बताए । त्यसैगरी,बैठकले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्ट,सदस्यहरूमा गंगादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए।