Sunday, October 11

Latest Update :

हेटौँडामा ५२ थान नागरिकता बरामद, तीन युवक पक्राउ

image

हेटौँडा ,२३असोज

प्रहरीले ५२ थान नागरिकता, भारी मात्रामा मोबाइल सिम र चेकबुकसहित रौतहटका तीन युवकलाई नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ५, सानोपोखरा स्थित रामबहादुर पोखरेलको घरमा डेरा लिएर बसेकाहरु पक्राउ परेका हुन् । उनीहरुले आपराधिक क्रियाकलाप गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी लिएर पक्राउ गरेको हो ।

 

प्रहरीले रौतहट, कटहरिया नगरपालिका वडा नं. ८ घर भएका अन्दाजी १९ वर्षीय अजय कुमार यादव, सोही स्थानका अन्दाजी १९ वर्षीय पवन कुमार दास तथा रौतहटकै बौधिमाई नगरपालिका वडा नं.६ घर भएका अन्दाजी २१ वर्षीय रोशन राय यादवलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका प्रतिलिपि ५२ थान, एनसेल कम्पनीका प्रयोग भइसकेका सिमकार्ड २२ थान, सिलप्याक अवस्थामा रहेका सिमकार्ड २१ थान तथा अन्य व्यक्तिका नाममा रहेका चेकबुक ४ थान बरामद भएको छ ।

 

बरामद भएका नागरिकता प्रमाणपत्रका प्रतिलिपि, सिमकार्ड तथा चेकबुक के प्रयोजनका लागि राखिएको हो भन्ने सम्बन्धमा सोधपुछ गर्दा उनीहरूले सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तीनै जनालाई नियन्त्रणमा लिई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।