Thursday, October 15

Latest Update :

बझाङमा ट्याक्टर दुर्घटनामा परेर ६ जना घाइते

image

बझाङ, २९ असोज

बझाङमा ट्याक्टर दुर्घटना भएको छ। बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरस्थित चैनपुर–ताक्लाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ८ बजे सिमेन्ट र सरिया लिन चैनपुर बजारतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४१९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७०–८० मिटर तल सेती नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय चालक राज चौधरी गम्भीर घाइते भएका छन्। त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–११ का ४२ वर्षीय रमित रजक, ३२ वर्षीया चन्द्रा जोशी र उनका ९ वर्षीय छोरा रिदम जोशी तथा ४५ वर्षीया हर्का देवी जोशी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यसैगरी, मष्टा गाउँपालिका–४ आग्राका ३२ वर्षीय गंग कठायत सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पु¥याइएको बझाङ प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Latest Update