Friday, October 16

Latest Update :

ओली भन्छन्– अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गराउने प्रवृत्तिको छानबिन गरियोस्

image

काठमाडौँ ,२९ असोज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका सरकार स्थापना गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले विस्थापित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् ।

 

उनले सरकारमा रहनेहरू जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै एमाले नेतृत्वको सरकारले अशक्त, शारीरिक अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सर्वप्रथम जनताको दुःख निवारण गर्नुपर्ने ओलीको भनाइ थियो । त्यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए । जनताको जीवनस्तर सुधार र आधारभूत आवश्यकता परिपूर्तिलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो ।

Latest Update