कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि आवश्यक पर्ने निरोगिताको प्रमाण पत्र लिन नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । नयाँ व्यवस्था लागू भएसँगै निरोगिताको प्रमाण पत्र लिन सेवाग्राहीले अहिलेको भन्दा थप ३५० रुपैयाँ राजश्व तिर्नु पर्ने छ । यसअघि कोशी प्रदेशमा निरोगिताको प्रमाण पत्र लिँदा ३ सय ५० रुपैयाँ राजश्व लिइँदै आएको थियो । नयाँ व्यवस्था लागू भए ३ सय ५० रुपैयाँसँगै थप १ सय ५० रुपैयाँ पनि सेवाग्राहीले तिर्नु पर्नेछ । निरोगिताको स्वास्थ्य परीक्षणका नाममा घुस लिने क्रम बढेको र सेवाग्राहीसँग निरोगिताको प्रमाण पत्र दिने नाममा मोटो रकम लिएको गुनासो आएपछि कोशी प्रदेश सरकारले दुई वर्ष अघिबाट आफैँले करारमा चिकित्सक नियुक्त गरेको थियो । सेवा ग्राहीको बढी चाप हुने इटहरी, बिर्तामोड लगायतका यातायात व्यवस्था कार्यालयमा दुई जना र सेवा ग्राहीको चाप कम हुने यातायात व्यवस्था कार्यालयमा एक जना चिकित्सकले सेवा दिँदै आएका थिए ।
के छ नयाँ व्यवस्था
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार करारका चिकित्सक हटाएर सूचकिृत भएका चिकित्सकहरूबाट निरोगिताको प्रमाण पत्र दिने व्यवस्था सुरु गर्न लागिएको जनाएको छ । मन्त्रालयका अनुसार निरोगिताको प्रमाणपत्र दिन चाहने चिकित्सकहरूका कम्पनीहरूलाई सूचीकृत हुन सूचना आह्वान गरिएको छ । मन्त्रालयमा सूचीकृत भएका चिकित्सकहहरुले सेवाग्राहीलाई निरोगिताको प्रमाण पत्र दिने छन् । निरोगिताको प्रमाण पत्र दिन सूचीकृत भएका ती चिकित्सकहरूले सेवा ग्राहीसँग एक सय ५० रुपैयाँ शुल्क लिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सेवा ग्राहीले चिकित्सकलाई एक सय ५० सँगै ३ सय ५० रुपैयाँ राजश्वसमेत बुझाउनु पर्ने छ । यसले सेवा ग्राहीलाई थप ३५० रुपैयाँ भार पर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव कृष्ण सापकोटाले सङ्घीय सरकारको परिपत्र अनुसार नै नयाँ व्यवस्था लागू गर्न लागिएको बताए । उनले भने, ‘सङ्घीय सरकारले नै सूचीकृत भएका डाक्टरहरूबाट निरोगिताको प्रमाण पत्र दिने व्यवस्था गर्नु भनेको छ । त्यही अनुसार हामीले पनि निरोगिताको प्रमाण पत्र दिन चाहने चिकित्सकहरूको कम्पनीलाई सूचीकृत हुन आह्वान गरेका छौँ ।’ उनले कोशी प्रदेश सरकारको आर्थिक ऐनमा निरोगिताको प्रमाण पत्र दिँदा ३ सय ५० रुपैयाँ राजश्व लिने व्यवस्था भएकाले कोशीमा सेवाग्राहीलाई थप भार पर्ने बताए ।
सरकारले एमबिबिएस गरेको चिकित्सकको परामर्श शुल्क ४ सय २० रुपैयाँ तोकेको छ । तर निरोगिताको प्रमाण पत्र दिने डाक्टरलाई भने ५० रुपैयाँ दस्तुर तोकिएको भन्दै भ्रष्टाचारका लागि सेटिङ गरिएको भन्दै कोशी प्रदेश सरकारले सुरु गर्न लागेको नयाँ व्यवस्थाको विरोध समेत भइरहेको छ । पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले प्रदेश सभामा बोल्दै नयाँ व्यवस्थाले निरोगिताको प्रमाण पत्रका नाममा सेवाग्राहीसँग रकम असुल्न सजिलो हुने बताए ।