Sunday, November 08

Latest Update :

प्रदेशसभा बैठकमा कांग्रेसको आवाज : मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ

image

धनगढी, २१ कात्तिक ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा मागेको छ। चालु आर्थिक वर्षको बजेटमा बेथिति भएको सरकारका जिम्मेवार पदाधिकारीले नै स्वीकार गरिसकेको भन्दै कांग्रेसले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग दोहोर्‍याएको हो।

 

शनिबार बसेको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस प्रदेशसभा सदस्य विक्रमसिंह धामीले बजेटमा बेथिति भएको सरकार, अर्थमन्त्री र सभामुखले समेत स्वीकार गरिसकेको बताए। उनले यस्तो अवस्थामा नैतिक जिम्मेवारी लिएर मुख्यमन्त्री र मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने धारणा राखे। धामीले आफ्नो धारणा राखेपछि कांग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए। प्रतिपक्षी दलको अवरोधपछि प्रदेशसभा बैठक स्थगित भएको छ।

 

यसअघि बजेटमा देखिएका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन। गत २७ असोजमा बजेट पारित गर्ने क्रममा सभामुख भीमबहादुर भण्डारीले दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गरेका थिए। समितिलाई २० कात्तिकभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो।  तर, निर्धारित समयसीमा सकिँदासमेत दलहरूबीच सहमति जुट्न नसक्दा समिति गठन हुन सकेको छैन। 

Latest Update