Sunday, November 08

Latest Update :

सुदूरपश्चिम प्रहरीका चारपाङ्ग्रे होइनन्, चारखुट्टे सारथि !

image

धनगढी, २२ कार्तिक। 

मानिसको सबैभन्दा मिल्ने र वफादार साथीका रूपमा चिनिने कुकुर घरको सुरक्षामा मात्रै सीमित छैनन्। अपराध अनुसन्धान, लागूऔषध तथा विस्फोटक पदार्थ पहिचान र सुरक्षा व्यवस्थापनमा समेत उनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। मानिसको भन्दा कैयौँ गुणा शक्तिशाली सुँघ्ने क्षमता र विशेष तालिमका कारण कुकुर प्रहरी अनुसन्धानका भरपर्दा सहयोगी बनेका छन्।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पनि ०७४ सालमा केनाइन शाखा स्थापना गरिएको छ। चारवटा कुकुरबाट सुरु भएको शाखामा अहिले सातवटा कुकुर छन्। तीमध्ये एउटा बच्चा भएकाले हाल छवटा कुकुर मात्रै ड्युटीमा खटिँदै आएका छन्।

 

 

केनाइन युनिटमा रहेका कुकुरलाई तीन फरक विधामा विशेष तालिम दिइएको छ। दुईवटा कुकुरलाई विस्फोटक पदार्थ पहिचान गर्ने, दुईवटालाई लागूऔषध पत्ता लगाउने र बाँकी दुईवटालाई ट्र्याकिङ अर्थात् गन्ध तथा पदचिह्नका आधारमा खोजी गर्ने तालिम दिइएको छ। विशेषगरी ट्र्याकर कुकुरले आपराधिक घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउँदै आएका छन्। चोरी, हत्या तथा अन्य हिंसाजन्य घटनामा घटनास्थलबाट प्राप्त गन्धका आधारमा शङ्कास्पद व्यक्तिको खोजी गर्न यस्ता कुकुर प्रयोग गरिन्छन्। घटनामा संलग्न व्यक्ति कुन बाटो हुँदै घटनास्थल पुगे र कुन बाटो फर्किए भन्ने पत्ता लगाउनसमेत उनीहरूको प्रयोग हुने गरेको छ।

 

 

त्यस्तै, लागूऔषध तथा विस्फोटक पदार्थ पहिचान गर्ने कुकुरलाई सीमावर्ती नाकासहित विभिन्न स्थानमा आकस्मिक सुरक्षा जाँचका लागि परिचालन गरिन्छ। उनीहरूको प्रयोगले शङ्कास्पद वस्तु तथा पदार्थ पहिचान गर्न प्रहरीलाई सहयोग पुग्दै आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरभित्रै कुकुरलाई तालिम दिने व्यवस्था गरिएको केनाइन शाखाका प्रहरी सहायक निरीक्षक रामबहादुर रानाले बताए। ‘सामान्यतया एक वर्षको उमेर नपुग्दासम्म कुकुरलाई विशेष तालिममा सहभागी गराइँदैन,’ उनले भने, ‘एक वर्ष पुगेपछि करिब एक वर्षसम्म विशेष तालिम प्रदान गरिन्छ। तालिम पूरा गरेपछि मात्रै उनीहरूलाई कार्यक्षेत्रमा खटाउने गरिन्छ।’

 

स्वास्थ्य अवस्था राम्रो रहेमा तालिमप्राप्त कुकुरले सातदेखि १० वर्षसम्म प्रहरी सेवामा योगदान दिन सक्छन्। स्वास्थ्य समस्या वा अन्य कारणले सेवाबाट अवकाश दिनुपर्ने अवस्था आएमा त्यसका लागि समिति गठन गरिन्छ। समितिको निर्णयअनुसार कुकुर गोद लिन इच्छुक व्यक्तिका लागि सार्वजनिक सूचना जारी गरी अपनत्व हस्तान्तरणको प्रक्रिया अघि बढाइन्छ। सुदूरपश्चिम प्रदेश प्रहरीको केनाइन युनिटमा हाल दुईवटा बेल्जियन मालिनोइ, दुईवटा जर्मन शेफर्ड, दुईवटा ल्याब्राडोर र एउटा गोल्डेन रिट्रिभर जातका कुकुर छन्। फरक जात र क्षमताका यी कुकुरले आ–आफ्नो जिम्मेवारीअनुसार प्रहरीलाई सहयोग गरिरहेका छन्।

 

कुकुर मानिसप्रति देखाउने निःस्वार्थ प्रेम, समर्पण र अटुट निष्ठाका कारण सबैभन्दा वफादार साथी मानिन्छन्। मानिसले दिएको माया र विश्वासको बदलामा उनीहरूले आफ्नो जिम्मेवारीप्रति देखाउने इमानदारीले मानिस र कुकुरबीचको सम्बन्धलाई विशेष बनाएको छ। प्रहरी सेवामा समेत यही सम्बन्ध र विश्वासको उदाहरण देख्न सकिन्छ। कुकुर तिहारको अवसरमा घरघरमा कुकुरलाई टीका, माला र मीठा परिकार खुवाएर पूजा गरिन्छ। यही अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पनि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईबाट केनाइन युनिटमा कार्यरत कुकुरहरूलाई टीका लगाएर पूजा गरिएको छ।

 

Latest Update