Thursday, November 19

Latest Update :

आधुनिक संगीतको चमकमा हराउँदै मादल, बाजा जोगाउने अभियानमा टोपबहादुर

image

धनगढी,३ मंसिर ।

आधुनिक बाजागाजा र डिजेको बढ्दो प्रयोगले नेपाली मौलिक बाजा मादलको प्रयोग घट्दै गएको छ। कुनै समय गाउँघरका चाडपर्व, विवाह तथा विभिन्न सांस्कृतिक कार्यक्रममा अनिवार्यजस्तै मानिने मादल अहिले विस्तारै ओझेलमा पर्दै गएको छ। मादल बजाउने परम्परा हराउँदै जाँदा यसलाई पेसा बनाएका परम्परागत कालिगढसमेत संकटमा पर्न थालेका छन्।

 

कैलालीको गोदावरी नगरपालिका–७ हरैयाका टोपबहादुर बादी भने बदलिँदो समय र घट्दो मागका बाबजुद पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन्। उनले तीन दशकभन्दा बढी समयदेखि आफ्नै हातले मादल बनाउँदै आएका छन्। बाउबाजेबाट सुरु भएको पेसालाई जोगाउने उद्देश्यले उनी आज पनि मादल निर्माणमा सक्रिय छन्। २०२६ सालमा रुकुममा जन्मिएका टोपबहादुर बसाइँसराइ गर्दै बर्दिया हुँदै कैलाली आइपुगेका हुन्। उनका बुवाले सुरुमा गाउँघरमा प्रयोग हुने तम्बाकु खाने हुक्का र चिलम बनाउने गर्थे। त्यतिबेला हुक्का–चिलमको माग राम्रो थियो। यही पेसाबाट आम्दानी हुन थालेपछि उनका बुवाले काठबाट मादल बनाउनसमेत सुरु गरे। मादल बनाउने सीप, सुरताल मिलाउने तरिका र निर्माण प्रक्रियासम्बन्धी अन्य ज्ञान उनले बुवाबाटै सिकेका हुन्।

 

 

बुवाबाट सिकेको सीपलाई उनले आफ्नो जीवनको मुख्य पेसा बनाए। विगत ३० वर्षभन्दा बढी समयदेखि मादल निर्माण र बिक्री गर्दै आएका उनले पहिलेको तुलनामा अहिले एउटा मादलबाट राम्रो आम्दानी हुने भए पनि समग्रमा माग भने घट्दै गएको अनुभव सुनाउँछन्। उनका अनुसार कुनै समय तिहार, विवाह तथा रतौलीमा मादलको तालमा नाचगान गर्ने चलन थियो। गाउँघरमा हुने सांस्कृतिक जमघट मादलबिना अधुरोजस्तै हुन्थ्यो। तर, अहिले यस्ता कार्यक्रममा डिजे र आधुनिक बाजागाजाको प्रयोग बढेपछि मादलको प्रयोग र महत्त्व दुवै घट्दै गएको छ। समयसँगै मानिसको रुचि र मनोरञ्जनका शैली परिवर्तन हुनु स्वाभाविक भए पनि यसले मौलिक संस्कृति र परम्परागत बाजाको अस्तित्वमै चुनौती थपेको टोपबहादुरको भनाइ छ। पहिले गाउँघरबाट नियमित रूपमा मादलको माग आउने गरे पनि अहिले त्यो क्रम घटेको छ।

 

 

मादल निर्माण आफैँमा समय र मेहनत लाग्ने काम हो। त्यसमा आवश्यक पर्ने काठ सामुदायिक वनबाट सहजै उपलब्ध नहुनु र मादलमा प्रयोग गरिने जनावरका छाला पाउनसमेत कठिन हुन थालेपछि पेसा थप चुनौतीपूर्ण बनेको छ। कच्चा पदार्थको अभाव र बढ्दो लागतका कारण मादलको मूल्यसमेत बढ्दै गएको उनी बताउँछन्। टोपबहादुरले पहाडी समुदायमा बजाइने ताल र थारू समुदायमा प्रचलित सुरअनुसार फरक–फरक प्रकारका मादल बनाउँदै आएका छन्। समुदायको आवश्यकता र मौलिकतालाई ध्यानमा राखेर मादल निर्माण गर्दै आएका उनले आफ्नो पुख्र्यौली सीप नयाँ पुस्तासम्म पु¥याउने प्रयाससमेत गरिरहेका छन्। त्यसका लागि छोराहरूलाई पनि यही पेसामा संलग्न गराउन थालेको उनको भनाइ छ।

 

 

मादल केवल मनोरञ्जनको साधन मात्र होइन, नेपाली मौलिक कला, संस्कृति र परम्पराको पहिचान पनि हो। तर, यसको प्रयोग र माग घट्दै जाँदा मादल बनाउने कालिगढको पेसा नै संकटमा पर्न थालेको छ। आम नागरिकको चासो घट्नु र नयाँ पुस्ता वैकल्पिक रोजगारीतर्फ आकर्षित हुनुले परम्परागत सीप हस्तान्तरणमा समेत समस्या देखिएको छ।