कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीले यही कार्तिक १९ गतेदेखि कपिलवस्तुको शिवराज नगरपालिकामा दुई महिने जनजागरण अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको केन्द्रीय निर्णयअनुसार सञ्चालन हुन लागेको दुई महिने जनजागरण अभियानलाई भव्य रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ। अभियानको तयारीका लागि आज शिवराज नगरपालिका–चन्द्रौटामा बसेको नेपाली कम्युनिस्ट पार्टीको नगर समितिको बैठकले कार्यक्रमको व्यवस्थापन, जनसहभागिता तथा अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो।
बैठकमा नगर समितिका पदाधिकारी, केन्द्रीय स्तरका नेता तथा विभिन्न वडाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले कार्तिक १९ गते हुने जनजागरण अभियानको उद्घाटन कार्यक्रममा विभिन्न वडाबाट व्यापक जनसहभागिता जुटाउने तथा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेको जनाएको छ।
बैठकको सुरुवातमा देश र जनताको लागि आफ्नो प्राण आहुति दिनुभएका शहीदहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसैगरी, नगर समिति उपाध्यक्ष सरला बुढाथोकीले केन्द्रबाट प्राप्त सर्कुलर पुस्तिका वाचन गर्नुभएको थियो।
बैठकले पार्टीको केन्द्रीय निर्णयअनुसार सञ्चालन हुन लागेको जनजागरण अभियानलाई सफल बनाउन विभिन्न वडाका पदाधिकारीहरूलाई जिम्मेवारी प्रदान गर्ने तथा जनस्तरमा अभियानको सन्देश पुर्याउने विषयमा समेत छलफल गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गर्न लागेको दुई महिने जनजागरण अभियानले शिवराज नगरपालिकाका विभिन्न वडा तथा समुदायमा पार्टीको गतिविधि विस्तार गर्दै जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।