कञ्चनपुरमा सीपमूलक तालिमका प्रशिक्षकको सूची (रोस्टर) निर्माण तथा अद्यावधिक गरिँदै
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, महेन्द्रनगर, कञ्चनपुरले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने विभिन्न सीपमूलक तालिमका लागि प्रशिक्षकको सूची (रोस्टर) निर्माण तथा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको छ।
तालिम सञ्चालनका लागि आवश्यक दक्ष तथा अनुभवी प्रशिक्षकको सूची तयार गर्ने उद्देश्यले केन्द्रले सम्बन्धित विषयमा तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो। केन्द्रले सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको दरखास्त फाराम भरी पेस गर्न अनुरोध गरेको छ। केन्द्रले विद्युत् जडान (वायरिङ), प्लम्बिङ, टेलरिङ, मोटरसाइकल मर्मत, कम्प्युटर मर्मत, ढकिया बनाउने, कुशन तथा डसना बनाउने, कपडा काट्ने (टेलरिङ), थारू ढकिया बुन्ने, हाते बिजुलीबत्ती बनाउने, विभिन्न डिजाइनका झोला बनाउने, मालापोते बनाउने, सिलाइ मेसिन मर्मत तथा तरकारी खेतीलगायत १४ वटा विषयमा प्रशिक्षकको रोस्टर तयार गर्न लागेको जनाएको छ।
शैक्षिक योग्यता र अनुभव अनिवार्य
सूचनाअनुसार सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र वा सोसरहको योग्यता हासिल गरी आवश्यक तालिम तथा कार्यअनुभव प्राप्त गरेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। सम्बन्धित विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट एसएलसी वा एसईई तहको प्राविधिक योग्यता हासिल गरेका तथा आवश्यक तालिम र कार्यअनुभव भएका व्यक्तिका लागि पनि अवसर खुला गरिएको छ।
त्यसैगरी, सम्बन्धित विषयमा कम्तीमा छ महिनाको तालिम प्राप्त गरी परम्परागत सीप तथा प्रविधिका आधारमा न्यूनतम एक वर्षदेखि उद्योग वा व्यवसाय सञ्चालन गर्दै आएका र आवश्यक सीप परीक्षण उत्तीर्ण गरेका व्यक्तिले समेत दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ। योग्यताअनुसार छनोट हुने प्रशिक्षकको पारिश्रमिक प्रदेश सरकारको सहायकस्तर चौथो वा पाँचौँ तहको सुरु तलब स्केलअनुसार निर्धारण गरिने सूचनामा उल्लेख छ।
आवश्यक कागजातसहित दरखास्त दिनुपर्ने
दरखास्तसँगै शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित तालिम तथा सीप परीक्षणका प्रमाणपत्र, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) र अनुभव प्रमाणित गर्ने कागजातका प्रतिलिपि संलग्न गर्नुपर्नेछ। प्रतिलिपिमा सम्बन्धित व्यक्तिले सक्कलसँग भिडाई ठीक रहेको प्रमाणित गरी तोकिएको समयभित्र केन्द्रमा पेस गर्नुपर्नेछ।
एउटाभन्दा बढी विषयमा तोकिएको योग्यता पुगेका व्यक्तिले सम्बन्धित विषयहरूमा समेत दरखास्त दिन सक्नेछन्। तर, आवश्यकताअनुसार कुन विषयका प्रशिक्षक छनोट गर्ने भन्ने निर्णय केन्द्रले गर्नेछ। केन्द्रका अनुसार प्राप्त दरखास्तमध्ये तोकिएको योग्यता पुगेका व्यक्तिहरूको छनोट गरी प्रशिक्षकको सूची निर्माण तथा अद्यावधिक गरिनेछ। सूचीमा नाम समावेश हुँदैमा तालिम सञ्चालनको जिम्मेवारी सुनिश्चित नहुने र आवश्यकताअनुसार योग्यता, तालिम, अनुभव तथा व्यक्तित्वका आधारमा छनोट गरी प्रशिक्षकका रूपमा खटाउन सकिने सूचनामा उल्लेख छ।
यो रोस्टर आर्थिक वर्ष २०८३/०८४ का लागि मात्र कायम रहनेछ। रीत नपुगेका दरखास्त स्वीकार नगरिने तथा सूचीमा नाम समावेश गर्ने वा नगर्ने अन्तिम अधिकार तालिम केन्द्रमा निहित रहने जनाइएको छ। तालिम केन्द्रले अन्य विषयमा व्यावसायिक सीपमूलक तालिम सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ तथा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

Give Your Thought5>