• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

अर्गानिक उत्पादनमा प्रदेश नम्बर एकका स्थानीय तहको जोड

Fm Radio Link

काठमाडौं, भारतबाट आयात भएका फलफूूल र तरकारीको विषादी परीक्षणका विषयमा बहस भइरहेका बेला देशमै उत्पादित तरकारी र फलफूलमा प्रयोग हुने विषादी जाँचको विषय पनि उठिरहेको छ ।

 

तर प्रदेश नम्बर एकका स्थानीय तहहरु भने बजेट नै छुट्याएर अर्गानिक उत्पादनमा लागि परेका छन् । झापाको बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको नगरप्रमुख भएर आएपछि पहिलो निर्णय नै आफ्नो नगरपालिकालाई देशकै पहिलो विषादी र प्रदुषण मुक्त नगरपालिका बनाउने थियो । नगरपालिकामा बढि तरकारी उत्पादन हुने ६ वटै वडा पूर्ण अर्गानिक बन्ने बाटोमा छन् । बजारमा विषादीको जाँच गर्ने ल्याबसमेत छ ।

 

यस वर्ष नगरपालिकाले पशु र कृषिका लागि ३ करोड बजेट छुट्याएको छ । पशुपालन नबढाइ विषादीको प्रयोग कम गर्न नसकिने देखेपछि नगरपालिकाले पशुपालनमा प्रोत्साहन गर्नुका साथै बाख्रा वितरणको काम समेत गरेको छ । नगर प्रमुख शिवाकोटीका अनुसार तरकारी र फलफूलको बेर्ना उत्पादनका लागि टनेल वितरण, माटोमा भएको अम्लियपन घटाउन निमका रुख रोप्ने अभियान पनि चलेको छ । अहिलेसम्म ७० हजार निमका बिरुवा रोपिसकिएको र झन्डै ३ लाख बिरुवा रोप्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

 

भोजपुरको षडानन्द नगरपालिकाले विषादी नियन्त्रणको विषय नीति तथा कार्यक्रममा नै समेटेको छ । नगरपालिकाले चिस्यान क्षेत्र छुट्याएर रासायनिक मल प्रयोगमा नियन्त्रण गर्ने निति लिएको छ भने कम्पोष्ट मल उत्पादनका लागि किसानलाई अनुदानको व्यवस्था समेत गरेको नगरप्रमुख वीरवल राईले सीआईएनसँग बताउनुभयो ।  यस वर्षको बजेटमा अर्गानिक उत्पादन प्रोत्साहनका लागि ४० लाख छुट्याउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

 

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाल पनि विषादी प्रयोगलाई निरुत्साहित गर्ने अभियानमा छ । यसका लागि सबैभन्दा पहिला किसानमै सचेतना ल्याउन आवश्यक देख्नुहुन्छ, नगरप्रमुख मोहनकुमार श्रेष्ठ । अर्गानिक उत्पादनका लागि सिद्धिचरण नगरापालिकाले केही ठाउँलाई पकेट क्षेत्रका रुपमा अगाडी बढाएको छ ।  
 

प्रतिकृया दिनुहोस