• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

पोखरामा दिनहुँ डेंगुका बिरामी बढ्दै

Fm Radio Link

पोखरा, पोखरामा दैनिक जसो डेंगु संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै गएको छ ।  साउनपछि हालसम्म पोखराका विभिन्न अस्तपतालमा डेंगुका संक्रमित हुनेको संख्यामा बृद्धि भएको हो । गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा डेंगुका विरामीले उपचार गराई रहेको छन् भने केहि उपचार पछि घर फर्किएका छन् ।

 

पोखरा महानगरपालिको वडा नम्बर ८ वरपरबाट धेरै डेंगेको विरामी भेटिएका छन् । त्यस्तै बडा नंं ९, १० र १७ मा पनि डेंगुका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले जानकारी दिएका छन । पोखरा वाहेक काठमाडौं, धरान, पर्बतका पनि बिरामी रहेको उनँको भनाई छ ।

 

पोखरामा अहिले लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदाएमा अभियान चलाइएको छ । यसैविषयमा रहेर एफएम रेडियो नेटवर्क अनलाइनका लागि संवाददाता उमा आलेमगरले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमसँग गरेको कुराकानी ।


१. डेंगु रोग कस्तो रोग हो ?


डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ। डेंगु रोग डेंगु भाइरसका कारणले हुनेगर्छ। डेंगु रोग इन्डियन सबकन्टिनेन्ट, साउथ एसिया, साउथर्न चाइना, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका जस्ता ठाउँहरुमा बढी पाइने गरेको छ। सबैभन्दा धेरै साउथ इस्ट एसिया र वेस्टर्न पेसिफिक आइल्यान्डमा देखिएको छ।

 

२०१५ को सेप्टेम्बर महिना भारतको नयाँदिल्लीमा मात्रै १ हजार ८ सय ७२ जना बिरामीहरु डेंगु रोगले सक्रमित भएको पाइएको थियो। केही दिन अगाडि पोखराकै एक आस्पातलमा २८ जना बिरामीहरु डेंगु रोगले संक्रमित भएको छापाहरुमा समाचार आएको थियो। नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। सन् २००६ मा चितवनमा डेंगुका रोगीहरु भ्ेटिएका थिए। सन् २०१० मा ९०० भन्दा धेरै बिरामीहरु देशका विभिन्न ठाउँहरुमा भेटिएको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको थियो। विसं. २०७३ मंसिरमा झापाको दमकमा डेंगुको संक्रमणबाट एक जना भारतीय नागरिकको मृत्यु भएको थियो। सन् २०१२ ओक्टुबरमा भारतीय सिनेमा उद्यागेका चर्चित व्यक्ति यश चोपराको यही डेंगु रोगको कारणले मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले निरन्तर बृद्धि भइरहेको छ।

 

अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन। डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्छ। लामखुट्टेको अलावा मनिसहरुको तिब्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ।  भारतका केही ठाउँमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवाना लगायत दण्ड सजाय दिने भनिएको थियो। डेंगुको खास उपचार छैन। यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। गम्भीर अवस्थाका डेंगुुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ। डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ।

 

जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ, तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनहुन्छ। यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतराहरु पनि हुनसक्छ। डेंगु एक भाइरसको कारणले हुने रोग हो। यो ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखापर्छ। वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्छ। डेंगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ।

 

डेंगु सार्ने लाम्खुट्टेहरु जमेको पानीको वरपर हुने गर्छन। डेंगु एक प्रकारको भाइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लाम्खुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखापर्छन्। यो रोगको बिरामीलाई समय मै अस्पताल र्पुयाउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ।

२. डेंगुका लक्षणहरु के के हुन्छन् ?


डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

— पेट दुख्ने

— नाक वा गिजाबाट रगत बग्ने

— रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

 

३. यो रोगका लागि सकेपछि उपचार के छ ?


हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ। डेंगु रोगले संक्रमित व्यक्तिमा रुघाखोकी र तीब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खल्खली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, श्वास फेर्न अफ्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिराहरु देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेसी – डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस् हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगहरुमा रक्तसंचार सूचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्छन्। 


डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगहरुका लक्षणसँग पनि मिल्दोजुल्दो हुन्छ। यो रोग लागेपछि लाक्षणिक उपचार गर्दै जाने हो। डेंगुुका बिरामीहरुले मेवाको पातको जुस पिउदा राम्रो हुन्छ भनिन्छ। डेंगुको बिरामीलाई एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन। यस्ता औषधिले रक्तश्राव बढाउने गर्छ। पारासिटामोल तथा कोडिन जस्ता औषधिहरुको प्रयोग गर्ने गरिन्छ।

 

गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्नसक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकाहरुमा यो रोग सर्ने प्रबल सम्भावना हुन्छ। यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्वाभना बढी हुन्छ।

 

४. डेंगु रोगवाट बच्न के के गर्नुपर्छ ?


डेंगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट नै बच्नु हो । डेंगु लागेको लक्षणहरु देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपर्दछ। डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थहरु सेवन गर्ने र अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नुपर्दछ ।

–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।

–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने

–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने

–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने

–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने

–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

अन्त्यमा


लामखुट्टेलाई वातावरणबाट नै हटाउनसक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो। त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। लामखुट्टेले खुला ट्यांन्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटे फटेका शिशा वा भाडामा जम्मा भएको पानी तथा खाल्टा खुल्टीहरुमा जम्मा भएको पानीमा फुल पार्ने हुँदा यस्ता ठाउँहरुमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनुपर्छ।

प्रतिकृया दिनुहोस