२४ जना प्रधानमन्त्री फेरिए तर आएन मेलम्चीको पानी काठमाडौँ
काठमाडौं, काठमाडौँमा दैनिक १७ करोड लिटर पानी ल्याउने उद्देश्यसहित २१ वर्षअघि सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको १० प्रतिशत काम बाँकी छ । एक वर्षअघि सुरूङ खन्ने काम पूरा भए पनि गत पुुसमा ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का रद्ध भयो ।
कहिले ठेकेदार त कहिले स्थानीयको अवरोध झेल्दै आएको मेलम्ची कहिले पूरा हुन्छ ? धेरै नागरिकले अहिले यही प्रश्न गरिरहेका छन् । खानेपानी मन्त्रीमा बिना मगर नियुक्त हुनेवित्तिकै आफ्नो पहिलो प्राथमिकता मेलम्ची खानेपानी आयोजनाको काम पूरा गर्नु रहेको बताउनुभएको थियो । मन्त्रीमा उहाँको नियुक्ति भएको करिब १० महिनामा इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का रद्ध भभयो ।
त्यसको करिब ६ महिनापछि नयाँ ठेकेदार कम्पनी छनौट भएको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रराज पन्त बताउनुहुन्छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसैवर्ष मेलम्चीको काम सक्ने भनेको छ । तर मेलम्ची पीडित मजदुर र आपूर्तिकर्ताहरू एक सातादेखि आन्दोलनमा छन् ।
खानेपानी मन्त्रालय भन्छ, उनीहरूको माग पूरा गर्नका लागि प्राविधिक समिति गठन गरी काम सुरु भएको छ । समितिका संयोजक, खानेपानी मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसी आन्दोलनबाट समस्याको समाधान नहुने भएकाले वार्ताबाटै पीडित पक्षको माग संवोधनको बाटो खोजिने बताउनुहुन्छ ।
पीडित मजदुरहरुको समस्या समाधान गरेर काम अघि बढाउन आफूहरुले निर्देशन पाइसकेको उहाँले बताउनुभयो । २०५५ सालमा निर्माण सुरु भए यता नेपालमा २४ जना प्रधानमन्त्री फेरिए ।
हरेक सरकारको प्रतिवद्धतामा पर्ने तर व्यवहारमा ढिलाइ भइरहने समस्या अझैँ कतिन्जेल चल्ला ? मेलम्ची परियोजनाको विज्ञ भएर काम गरी सक्नुभएका बदनलाल न्यायोच्याई तदारुकताका साथ काम गरे धेरै समय नलाग्ने बताउनुहुन्छ । यस्तै अवस्था रहे मेलम्चीको पानी कहिले काठमाडौैं आउँछ त्यो भन्न नसकिने उहाँको भनाइ छ ।
सुरुमा चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे व्युरो कम्पनीलाई ठेक्का दिदा चार अर्ब २८ करोड लागत अनुमान गरिएको थियो । सन २०१३ मै निर्माण सकिनुपर्ने भए पनि पटक पटकको म्याद थपसँगै अहिलेसम्म करिव २७ अर्ब रुपैयाँ खर्च हुँदा पनि काम सकिएको छैन ।
प्रतिकृया दिनुहोस5>