२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

रिफ्यूलिंग स्टेशनको शुभारम्भ : भाडादर कम हुने विश्वास

image

आयुब हुसेन,जनकपुरधाम : जनकपुरधाम शुक्रबार विमानस्थलमा एक समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले रिफ्यूलिंग स्टेशनको शुभारम्भ गरेका छन्।

 

मन्त्री यादवले बुद्ध एयरको विमानमा हवाई इन्धन राखेर रिफ्यूलिंग स्टेशनको उद्घाटन गरेका हुन । रिफ्युलिंग स्टेशनको उद्घाटन गर्दै मन्त्री यादवले जनकपुरधाम विकासका लागि आवश्यक पूर्वाधारहरूमध्ये यो रिफ्यूलिंग स्टेशन पनि एक पूर्वाधार रहेको बताए।रिफ्युलिंग स्टेशनको स्थापनामा एक व्यक्तिको मात्र नभई नेपालका सम्पूर्ण पक्षका साथै भारत सरकारको समेत सहयोग रहेको जानकारी दिए।

 

सो स्टेशनमा तत्कालका लागि अस्थायी टयांकरमै इन्धन स्टक राखिने छ। विस्तारै आवश्वयक पुर्वाधार सहितको स्टोर ट्यांक स्थापना गरिने छ। सो स्टोरेज ट्यांक निर्माण हुन कम्तिमा दुई वर्ष लाग्नेछ।रिफ्यूलिंग स्टेशन स्थापना हवाई इन्धन जनकपुरधाम विमानस्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीलाई समेत समस्या हुँदै आइरहेको थियो।

 

यसअघि काठमाडौ, विराटनगर र भैरहवाबाट जनकपुरधामबाट उडान हुने विमानहरुले इन्धन ल्याउने गरेको थियो।हाल सो रिफ्यूलिंगमा स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुरधाम विमानस्थलका स्टेशन इन्चार्ज सरोज कुमार यादवले जानकारी दिए। उनले तत्काल ४१ केएल दैनिक हवाई इन्धन अस्थायी रुपमा टयांकरमै स्टक राखिने उनले बताए।

 

स्थायी स्टोर स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ। १ सय ४० केएल क्षमताको डिपो दुई वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले बताए।

 

भाडादर कम हुने विश्वास रिफ्यूलिंग स्टेशन स्थापनाले यही नै इन्धन उपलब्ध भएको कारण समय र पैसा दुवैको बचत हुने भएकोले विमान कम्पनीले भाडा दर समेत कम गर्ने बुद्ध एअर जनकपुरका इन्चार्ज विजय सिंहले बताए।

 

उनले रिफ्यूलिंग स्थापनाको कुरा चलेदेखि नै बुद्ध एअर विमान कम्पनीले भाडा दर कम गरिसकेको बताए। उनले ४ हजार ३ सय, ३ हजार ८ र ३ हजार ४ सय भाडा रहेकोमा अब तीन हजार ४, तीन हजार २ सय, दुई हजार ८ र दुई हजार ५ सय भाडा दर कायम गरेकोछ।

 

साथै उनले ग्राहकको चाप देखेर दुई हजारसम्म भाडा हुन सक्ने समेत जानकारी दिए। उद्घाटन समारोहमा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।