धनगढी उपमहानगरपालिका–५ की दिपा बमका लागि व्यवसाय केवल आम्दानीको माध्यम मात्रै होइन, आत्मनिर्भर बन्ने यात्रासमेत बनेको छ। करिब एक दशकअघि सामान्य लगानीबाट सुरु गरेको होजियारी व्यवसायले अहिले उनलाई धनगढीमा सफल महिला उद्यमीका रूपमा स्थापित गरेको छ। घरको खाली समयको सदुपयोग गर्ने उद्देश्यले व्यवसायमा प्रवेश गरेकी दिपाको उद्यमशीलताको यात्रा भने डोटीको दीपायलबाट सुरु भएको हो। उनले सुरुमा पुस्तक पसल सञ्चालन गरेकी थिइन्। आफन्त तथा नातेदारको सल्लाहपछि होजियारी व्यवसायमा सम्भावना देखेकी उनले धनगढी आएर ‘कमला होजियरी उद्योग’ सञ्चालनमा ल्याइन्।
सुरुवातमा हातेमेसिनबाट कपडा उत्पादन गर्न थालेकी दिपाले अहिले उद्योगलाई आधुनिक तथा विद्युतीय मेसिनमा विस्तार गरेकी छिन्। करिब तीन लाख रुपैयाँको लगानीबाट सुरु भएको उद्योगबाट अहिले वार्षिक रूपमा लाखौँ रुपैयाँको कारोबार हुँदै आएको उनी बताउँछिन्। उनको उद्योगमा हाल सात जना महिला तथा पुरुषले प्रत्यक्ष रोजगारी पाएका छन्। रोजगारी पाएका कामदारका लागि उद्योग आम्दानीसँगै घरखर्च व्यवस्थापन र खाली समयको सदुपयोग गर्ने माध्यमसमेत बनेको छ।
दिपाले भारतको लुधियाना पञ्जाबबाट विभिन्न १० वटा मेसिन ल्याएर उद्योग विस्तार गरेकी छिन्। ती मेसिनबाट विद्यालय, क्याम्पस र अन्य व्यक्तिले लगाउने सुपथ मूल्यमा कपडा उत्पादन हुन्छ। आवश्यकअनुसारका विभिन्न डिजाइनका स्विटर, रिफ, फलरलगायतका सामग्री उद्योगबाट उत्पादन हुँदै आएका छन्।
उनले धागो तथा अन्य कच्चा पदार्थसमेत भारतबाट ल्याउने गरेकी छिन्। धनगढीमा मात्रै सीमित नभई उनको उद्योगबाट उत्पादित सामग्री सुदूरपश्चिमका नौवटै जिल्लासँगै अन्य प्रदेशमा समेत बिक्री हुने गरेको छ। खुद्रा तथा थोक दुवै रूपमा ग्राहकको माग र अर्डरअनुसार सामग्री उत्पादन गर्ने गरेको दिपा बताउँछिन्।
दिपाका श्रीमान् अमर देउवा पनि उनको व्यवसायिक यात्रामा निरन्तर साथ र हौसला दिँदै आएका छन्। धनगढीमा होजियारी उद्योगको संख्या कम रहेको र यसको बजार सम्भावना राम्रो देखिएपछि आफूले श्रीमतीलाई व्यवसायमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन्। ‘श्रीमतीले केही गर्नुपर्छ भन्ने सोच थियो। धनगढीमा होजियारीको सम्भावना पनि राम्रो देखियो। त्यसैले व्यवसायलाई निरन्तरता दिन हौसला दिएँ,’ अमरले भने।
करिब १० वर्षको व्यवसायिक यात्रामा दिपाले अनेकौँ चुनौतीको सामना गर्नुपरेको छ। बजारको प्रतिस्पर्धा, कच्चा पदार्थको व्यवस्थापन, मेसिन सञ्चालन तथा उत्पादन बिक्रीसम्मका चुनौती पार गर्दै उनी अहिले उद्योगलाई विस्तार गर्ने अवस्थामा पुगेकी छन्। ‘सुरुमा धेरै कुरा सिक्नुपर्यो। चुनौती पनि आए। तर मेहनत र लगन छाडिनँ। परिवारको साथ पनि पाइयो,’ दिपाले भनिन्, ‘अहिले आफ्नै व्यवसायले परिवारको खर्च धान्न सकेकी छु। घर र घडेरीसमेत जोड्न सफल भएकी छु।’उनले घरमै उद्योग सञ्चालन गरिरहेकी छिन् भने उत्पादित सामग्रीको बजारीकरणका लागि निर्माण व्यवसायी संघनजिकै सटर भाडामा लिएर बिक्रीसमेत गर्दै आएकी छिन्। विशेषगरी जाडो मौसममा स्विटरलगायतका सामग्रीको माग बढ्ने भएकाले सिजनअनुसार कारोबारमा समेत वृद्धि हुने गरेको उनको भनाइ छ। व्यवसायले दिपाको आर्थिक अवस्था मात्रै परिवर्तन गरेको छैन, सामाजिक पहिचानसमेत बदलिएको छ। धनगढीमा उनी अहिले श्रीमानको परिचयबाटभन्दा ‘कमला होजियारी’की सञ्चालक तथा उद्यमीका रूपमा बढी चिनिन्छिन्।
दिपाको अनुभवमा आफ्नै ठाउँमा सीप र लगानीको प्रयोग गरेर व्यवसाय गर्न सके रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सकिन्छ। त्यसका लागि सरकारले स्वदेशी उत्पादन गर्ने उद्योगलाई सहज वातावरण, आवश्यक तालिम, प्रविधि र अनुदानको व्यवस्था गर्नुपर्ने उनको माग छ। ‘आफ्नै ठाउँमा केही गर्न सकियो भने विदेश जानैपर्छ भन्ने छैन। सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याइदिए हामीजस्ता साना उद्यमीलाई अझै ठूलो बन्न सहयोग पुग्छ,’ उनले भनिन्।।घरको खाली समयको सदुपयोग गर्ने सोचबाट सुरु भएको दिपाको यात्रा अहिले रोजगारी सिर्जना गर्ने उद्यमसम्म पुगेको छ। सामान्य लगानीबाट सुरु भएको व्यवसायलाई निरन्तर मेहनत, परिवारको साथ र बजारको मागअनुसार विस्तार गर्दै उनले धनगढीमा सफल महिला उद्यमीको पहिचान बनाएकी छिन्।