बुद्ध एयरले धनगढीको हवाई भाडा १० हजार आठ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले महँगो भाडामा टिकट बिक्री गरेको पाइए कडा कदम चाल्ने चेतावनी दिएको छ। बुद्ध एयरले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा धनगढीको एकतर्फी हवाई भाडा १० हजार आठ सयमा उपलब्ध गराउँदै आएको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइरहेको बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरले आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यम फेला परेमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ। यात्रुलाई सामाजिक सञ्जाल वा अनधिकृत माध्यमबाट फैलाइएका भ्रामक सूचनाका आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन आग्रह गर्दै कम्पनीले आधिकारिक वेबसाइट, मोबाइल एप तथा आधिकारिक बिक्री माध्यमबाट मात्रै टिकट र भाडासम्बन्धी जानकारी लिन अनुरोध गरेको छ।