Tuesday, October 13

Latest Update :

दमनविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आयो : ओली

image

काठमाडौं ,२६ असोज

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन अनिवार्य रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीमा नवमनोनित सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति निर्माण भइरहेको बताए । ‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ । राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ अध्यक्ष ओलीले भने, ‘यस्तो स्थितिमा हामीले यी चिजहरूको पुनर्प्राप्ति गर्नु अनिवार्य सर्त हो । बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ । विगतमा पनि हामीले यो गरेका छौँ र फेरि पनि गर्नुपर्ने हुन्छ ।’

 

आन्दोलनको अर्थ लुटपाट वा आगजनी नभई असंगठित र निरस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनको प्रतिवाद भएको उनले प्रष्ट पारे । सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी र षड्यन्त्र अझै जारी रहेको दाबी गरे । २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको स्मरण गर्दै उनले २०७८ मा पार्टी फुटाउने र २०७९ को निर्वाचनमा सिंगै देश एकातिर लागेर एमालेविरुद्ध मोर्चाबन्दी गरिएको बताए । ‘हामी विरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, यो एकदमै चालु छ । सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको छ,’ ओलीले भने ।

 

गत निर्वाचनमा विरोधीका सबै षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उनले अब त्यस्ता षड्यन्त्रलाई टिक्नै नदिने गरी अघि बढ्न नेता-कार्यकर्तालाई निर्देशन दिए । समाजवादी आन्दोलनलाई सिद्ध्याउँछौँ भनेर लाग्नेहरू ‘मूर्ख’ भएको टिप्पणी गर्दै ओलीले कम्युनिष्ट आन्दोलन भनेकै सत्य, न्याय र मानवतावादको आन्दोलन भएको दाबी गरे ।नयाँ केन्द्रीय सदस्यहरूलाई निर्देशन दिने क्रममा अध्यक्ष ओलीले विगतको इतिहास र योगदानको ब्याज खाएर मात्र अब पार्टीमा नटिक्ने कडा चेतावनी दिए ।

Latest Update