Wednesday, October 21

Latest Update :

दसैँको उत्सवबीच रोजीरोटीका लागि सडकमा अटो चालक

image

धनगढी,४ कात्तिक 

बुधबार बडादसैँको मुख्य दिन विजयादशमी। गाउँदेखि सहरसम्म टीका र जमराको रौनक छ। नयाँ लुगा लगाएर आफन्तकहाँ टीका थाप्न जाने र आशीर्वाद लिनेहरूको चहलपहल छ। तर, धनगढीका केही अटो चालकका लागि भने दसैँको खुसीभन्दा परिवारको जिम्मेवारी ठूलो बनेको छ। अरूले परिवारसँग बसेर दसैँ मनाइरहँदा उनीहरू अटोको स्टेयरिङ समातेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन व्यस्त छन्।

 

धनगढीकी कल्पना ढुंगानाले दसैँको मुख्य दिन गर्नुपर्ने पूजाआजा र घरको काम बिहानै सकिन्। त्यसपछि उनी अटो लिएर बजारतिर लागिन्। परिवारको मुख्य आम्दानीको स्रोत नै अटो व्यवसाय भएकाले उनलाई दसैँको दिन पनि काममा निस्कनुपर्ने बाध्यता छ। यही व्यवसायबाट परिवारको खर्च धान्दै आएकी कल्पनालाई घरमै बसेर समय बिताउनुभन्दा अटो चलाउनु उपयुक्त लाग्छ। टीका थाप्न नयाँ लुगा लगाएर हिँडेका नागरिकलाई उनी अटोमा गन्तव्यसम्म पुर्‍याइरहेकी छन्। अरूका लागि चाडपर्व आराम गर्ने र परिवारसँग रमाउने समय भए पनि कल्पनाका लागि यो आम्दानी गर्ने अवसर पनि हो। बिहान घरको जिम्मेवारी पूरा गरेर सडकमा निस्किएकी उनी अटो चलाउँदै परिवारको आर्थिक जोहोमा जुटेकी छन्।

 

धनगढीका अर्का अटो चालक इन्द्रबहादुर घिमिरेको अवस्था पनि उस्तै छ। दैनिक आम्दानीको माध्यम बनेको अटो एक दिन भए पनि थन्क्याएर राख्न उनलाई उचित लागेन। चार सदस्यीय परिवारको खर्च यही अटोबाट हुने कमाइले धान्नुपर्ने भएकाले उनी पनि दसैँको मुख्य दिन यात्रु ओसारपसारमा व्यस्त छन्।

अन्य आम्दानीको स्रोत नभएकाले चाडपर्वमा पनि काम छाड्न नसकिने इन्द्रबहादुर बताउँछन्। घरमा परिवारसँग दसैँको खुसी साटेर उनी बजारमा अटो चलाउन निस्किएका हुन्। केही घण्टा भए पनि काम गर्न सके घरखर्च जुटाउन सहयोग पुग्ने उनको बुझाइ छ। दसैँका बेला आफन्तकहाँ टीका थाप्न जानेहरूको आवतजावत बढ्दा धनगढी बजारमा अटोको माग पनि देखिन्छ। आफ्नै सवारीसाधन नभएका नागरिकलाई अटोले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सहज बनाएको छ। यात्रुका लागि सहज यातायातको माध्यम बनेका अटो चालकका लागि भने यही चहलपहल आम्दानीको अवसर बनेको छ।