बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमीमा आज मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाउने परम्परा छ ।
दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने धार्मिक परम्परा छ । आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ। नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु हुने टीका र आशीर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन आफन्तकहाँ गएर टीका लगाउन छुटेकाहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्छन् । दसैँमा परिवारका सदस्य तथा आफन्तजन भेला भएर टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ ।