२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

समाजवादी पार्टीसँग एकताको विषयमा वार्ता भएको छैनः महतो

image

काठमाडौं, राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकताको विषयमा वार्ता नै नभएको बताउनुभएको छ ।

 

लामो समयदेखि स्थगित रहेको राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरुको मंगलबारको बैठकमा महतोले भेटघाटमा क्रममा एकता हुनुपर्ने धारणाबारे सामान्य छलफल भएपनि औपचारिक रुपमा कुनै किसिमको वार्ता र सहमती नभएको स्पष्ट पार्नुभएको छ । राजपाबाट वार्ता समीतिका संयोजक समेत रहनुभएका महतो बिचार मिल्ने दुई पार्टीबीच एकता हुनुपर्ने पक्षमा हुनुहुन्छ ।

 

बबरमहलस्थित पार्टी कार्यालय मधेस भवनमा बसेको बैठकमा अगामी महाधिवेशनको तयारी, कांग्रेससँगको कार्यगत एकता, संसदमा विभिन्न दलसँग भइरहेको एकीकरणको प्रयासको बारेमा पनि छलफल भएको राजपा नेपाका संयोजक राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रदेश २ सरकारले गरेका कार्यको समिक्षा, महाधिवेशन लक्षित गरी पदाधिकारीहरुलाई जिल्ला–जिल्लामा खटाइने लगायतका विषयमा पनि छलफल चलेको छ ।

 

राजकिशोर यादव राजपा नेपालको अध्यक्षमण्डलको संयोजकका रुपमा आएपछि पहिलो बैठक बसेको हो । राजपा नेपालले कात्तिक २८, २९ र ३० गते महाधिवेशनको मिति तय गरेको छ ।

 

सर्लाहीका कुमार पौडेल र सरोजनारायण सिंहको हत्याको विषयको छानविनको माग गर्दै संसदमा कांग्रेस र राजपाबीच कार्यगत एकता भएको छ । कार्यगत एकतालाई निरन्तरता दिनका लागि पनि दुई दलकबीच पनि छलफल भइरहेको संयोजक यादवले बताउनुभयो ।  - जनता समाचार