२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

शिवराजका शिक्षक र विद्यार्थीलाई कवाज तालिम ।।

image

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकामा ३ दिन सम्म चलेको पिटी कवाज कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी र शिक्षकहरुलाई कवाज तालिम प्रदान गरिएको हो । 

नगरका २२ वटा सामुदायिक विद्यालय, ९ वटा निजी विद्यालयहरुका दुई जना विद्यार्थी र एक जना शिक्षक गरी कुल ९३ जनालाई तालिम दिइएको जनाइएको छ । ३ दिन सम्म चलेको तालिममा कालिका मावि बुटवलका खेल शिक्षक हरिस ओली र रामु सुनारले प्रशिक्षण दिएको नगरपालिकाले जनाएको छ । 

तालिम समापन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शारीरिक व्यायाम तालिमले विद्यार्थीहरुलाई स्वास्थ्य राख्नुका साथै खेल प्रति विद्यार्थीहरुको आकर्षण बढ्ने बताएका छन् । नगरले तीन दिन सम्म ख्याति प्राप्त प्रशिक्षक मार्फत विद्यार्थी र शिक्षकहरुलाई तालिम दिइएको उनले जानकारी दिए । अब तालिम लिएका शिक्षक र विद्यार्थीहरुले आफ्नो विद्यालयहरुमा सोहि अनुसार दैनिक शारीरिक कवाज तालिम (पिटी) संचालन गर्न आग्रह समेत उनले गरे । सुरुमा केहि समस्या हुने भए पनि केही समय पछि अनिवार्य रुपमा पिटी हुने भएकोले यसलाई आजैबाट सुरुवात गर्न प्रमुख अधिकारीले सुझाए । 
यस्तै विद्यालयका शिक्षकहरुलाई पिटी संचालनको तरिका थाहा नहुँदा समस्या भएको विषयलाई मध्यनजर गरेर नगरले उक्त तालिमम संचालन गरेको नगर उपप्रमुख शिवकुमारी थारुले जनाईन् । शारीरिक व्यायाम वा कवाज (पिटी) संचालन गर्दा विद्यालयको स्वरुप नै परिवर्तन हुने भएकोले सिकेको कुरालाई विद्यालयमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यार्थीहरुको शारिरिक, मानसिक, वैद्धिक, संवेगात्मक विकासको लागि तालिम संचालन गरेको बताए । शारिरिक व्यायम तालिमले विद्यार्थीहरुमा अनुशासन, शिक्षण सिकाई क्रियाकलापमा उपयुक्त वातावरण बन्ने शिक्षा शाखा प्रमुख पन्थीले विश्वास व्यक्त गरे । नगरका विद्यालय सुधारको लागि विद्यालयहरुबाटै अभियान संचालन हुने उनले जनाए ।

अब शिवराज नगरपालिकाका विद्यालयहरुमा विहान ९ः५० मा पहिलो घण्टी लाग्नेछ, जुन समयमा विद्यार्थीहरु कक्षाकोठा र शिक्षक कार्यकक्षमा जानुहुनेछ, त्यसपश्चात ९ः५५ मा दोस्रो घण्टी लाग्ने छ, यो समयमा शिक्षकहरु विद्यार्थीहरुको हाजिरीको लागि १० ः ०५ सम्मको समय रहने छ । १०ः०५ मा शिक्षकहरुले विद्यार्थीहरु लामवद्ध रुपमा शारीरिक व्यायाम तथा विद्यालय परिसर सरसफाईको कार्यक्रम रहने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।